काठमाडौं । जापानलाई हराउँदै नेपालको यू-१९ राष्ट्रिय क्रिकेट टोली एसीसी यू–१९ प्रिमियर कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको पहिलो सेमिफाइनल खेलमा जापानलाई डकवर्थ लेविस पद्दति आधारमा १ सय ४३ हराउँदै नेपाल प्रतियोगिताको फाइनल प्रवेश गरेको हो ।
अपराजित नेपाल फाइनलमा पुगेसँगै यू-१९ एसिया कपका लागि पनि छनोट भएको छ । नेपाल र जापान दुवै आ-आफ्नो समूहको विजेताको रुपमा सेमिफाइनलमा पुगेका थिए । नेपालले सुरुआती ब्याटिङ गर्दा २५ ओभरमा २ विकेट गुमाएर १ सय ४० रन बनाएपछि वर्षाले खेल प्रभावित बनेको थियो ।
त्यसपछि, लामो समय वर्षा हुँदा जापानले २२ ओभरमा जितका लागि १ सय ८७ रनको लक्ष्य पाएको थियो । जवाफमा जापान ११.५ ओभरमा ४३ रनमा अलआउट भएको थियो । जापानका शोतारो हिरात्सुकाले १५ रन र किफ़र यामामोटोले १३ रन जोड्नुबाहेक अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
जापानका ५ ब्याटर शुन्य रनमा पोविलियन फर्किएका थिए । नेपालका लागि हेमन्त धामी र दीपेश कंडेलले समान ३/३ विकेट लिएका थिए । सुभाष भण्डारीले २ विकेट लिएका थिए भने आकाश चन्दले १ विकेट हात पारेका थिए ।
त्यसअघि, ५० ओभर खेल खेल्न सुरुआती ब्याटिङ गरेको नेपालले २५ ओभरमा २ विकेट गुमाएर १ सय ४० रन बनाएपछि खेल लामो समय वर्षाले प्रभावित बनेको थियो । नेपालका लागि ओपनर दीपक बोहोराले ७० बलमा १० चौका र २ छक्कासहित सर्वाधिक ७९ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए ।
आकाश त्रिपाठीले ४७ बलमा १ चौका र १ छक्कासहित ३५ रन र कप्तान देव खनालले ८ रन बनाएको अवस्थामा निरन्तर झरी परेपछि खेल प्रभावित बनेको थियो । त्यसअघि, ओपनर अर्जुन कुमाल २३ बलमा १ चौकासहित १० रनमा क्याच आउट भएका थिए । जापानका लागि कजुमा काटो स्टेफोर्ड र किफर यामामोटोले समान १/१ विकेट हात पारेका थिए ।
अब मंगलबार हुने फाइनलमा नेपाल र यूएई आमने सामने हुने छन् । यूएईले अर्को सेमिफाइनलमा सिंगापुरलाई हराएको थियो । प्रतियोगिताको शीर्ष ३ टोलीले पाकिस्तानमा हुने यू-१९ एसिया कप खेल्ने छन् । नेपाल र यूएई एसिया कपमा पुगेका छन् । अब जापान र सिंगापुरले तेस्रो स्थानका लागि खेल्ने छन् भने १ टोलीले एसिया कपमा स्थान बनाउने छ ।