काठमाडौं । नेपालले त्रिदेशीय टी-२० आई क्रिकेट सिरिजको दोस्रो खेलमा हङकङलाई हराउँदै लगातार दोस्रो जित हात पारेको छ । बिहीबार माथिल्लो मुलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपालले हङकङलाई ६ विकेटले हराएको हो । दोस्रो जितसँगै नेपाल फाइनल नजिक पुगेको छ ।
हङकङले जितको लागि दिएको ९५ रनको मध्यम विजयी लक्ष्य पछ्याएको आयोजक नेपालले १३.५ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो । नेपालका लागि ओपनर आसिफ शेखले ३४ बलमा ६ चौकासहित सर्वाधिक ४२ रन बनाएका थिए । ओपनर कुशल भुर्तेल ८ रनमा बोल्ड आउट भएका थिए ।
स्पिनर एहसान खानको बलमा कुशल मल्ल १ रनमा बोल्ड आउट भए । सन्दीप जोरा पनि खानकै बलमा ३ रनमा बोल्ड आउट भएका थिए । कप्तान रोहितकुमार पौडेल २० बलमा १ चौका र २ छक्कासहित २५ रनमा र गुलशन झा ५ बलमा २ छक्कासहित १४ रनमा नटआउट रहेका थिए ।
हङकङका लागि स्पिनर एहसान खानले ४ ओभरमा १० रन खर्चेर सर्वाधिक ३ विकेट लिएका थिए । यासिम मुर्तजाले ४ ओभरमा ३६ रन खर्चेर १ विकेट लिएका थिए ।
त्यसअघि, टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङ १९.३ ओभरमा ९४ रनमा अलआउट भएको थियो । हङकङले नेपालको तिव्र गतिको बलर र स्पिनरलाई झेल्न सकेनन् । हङकङका लागि मध्यक्रमका ब्याटर यासिम मुर्तजाले ३६ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक ३६ रन बनाएका थिए ।
जिशान अलीले २० बलमा २ चौकासहित १७ रन जोडेका थिए । एक समय ३३-५ को स्थितिमा रहेको हङकङलाई मुर्तजा र जिशानले ३० रनको साझेदारी गर्दै सम्मानजनक योगफलसम्म पुर्याएका थिए । इनिङको पहिलो बलमै कप्तान निजाकतलाई गुमाएको हङकङका अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन् ।
नेपालका लागि तीव्र गतिका बलर करण केसीले ४ ओभरमा १५ रन खर्चेर सर्वाधिक ४ विकेट लिएका थिए । सोमपाल कामी र अभिनाश बोहोराले समान २/२ विकेट तथा कुशल मल्ल र श्याम ढकालले समान १/१ विकेट लिएका थिए । नेपालले बुधबार पहिलो खेलमा युएईलाई ७ विकेटले हराएको थियो ।
टी-२० आई विश्वकप छनोटको तयारी स्वरुप नेपाल क्रिकेट संघ क्यानले सिरिजको आयोजना गरेको हो । सिरिजमा आयोजक नेपाल सहित यूएई र हङकङ समावेश छन् । सिरिजको फाइनल खेल (अक्टोबर २७) कात्तिक १० गते शुक्रबार दिउँसो ११ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ ।
त्रिदेशीय सिरिजको नेपालको खेल तालिका र समय :
कार्तिक ४ गते (अक्टोबर २१) : नेपालविरुद्ध हङकङ, मुलपानी - दिउँसो ११ बजे
कार्तिक ६ गते (अक्टोबर २३) : नेपालविरुद्ध युएई, मुलपानी - दिउँसो ११ बजे
त्रिदेशीय सिरिजको लागि नेपालको टोली :
रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, प्रतिश जि.सी, ललितनारायण राजवंशी, अभिनाश बोहरा, विवेक यादव, सागर ढकाल, विनोद भण्डारी, लोकेश बम, सूर्य तामाङ र श्याम ढकाल ।