काठमाडौं । कप्तान रोहितकुमार पौडेलको अर्धशतक र करण केसीको उत्कृष्ट बलिङमा त्रिदेशीय टी-२० आई क्रिकेट सिरिजको पहिलो खेलमा नेपालले यूएईमाथि शानदार जित निकालेको छ । बुधबार माथिल्लो मुलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपालले यूएईलाई ७ विकेटले हराएको हो ।
यूएईले जितको लागि दिएको १ सय ४१ रनको मध्यम विजयी लक्ष्य पछ्याएको आयोजक नेपालले १८.५ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ४० बलमा ५ चौकासहित सर्वाधिक ५१ रनको अर्धशतकीय इनिङ खेलेका थिए ।
कप्तान रोहितसँग उत्कृष्ट साझोदारी गरेका दीपेन्द्रसिंह ऐरी २३ बलमा ३ चौका र १ छक्कासहित ३४ रनमा नटआउट रहेका थिए । चौथो विकेटका लागि दीपेन्द्र र रोहितले ९३ रनको अविजित साझेदारी गरेका थिए । नेपालको सुरुवात भने त्यति राम्रो हुन सकेको थिएन ।
ओपनर कुशल भुर्तेल १४ बलमा १ चौकासहित १४ रनमा आउट भएका थिए भने कुशल मल्ल ९ बलमा २ चौकासहित ११ रनमा रन आउट भएका थिए । अर्का ओपनर आसिफ शेख २७ बलमा २ चौका र १ छक्कासहित २३ रनमा आउट भएका थिए । युएईका लागि अल नासिर र निलांश केसवानीले समान १/१ विकेट लिएका थिए ।
त्यसअघि, टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४० रन बनाएको थियो । युएईका लागि बासिल हामिदले ३८ बलमा १ चौका र ४ छक्कासहित सर्वाधिक ५१ रनको अर्धशतकीय इनिङ खेले पनि त्यो जितका लागि पर्याप्त हुन सकेन ।
त्यस्तै, युवा अलराउन्डर अली नासिरले ३० बलमा ३ चौका र १ छक्कासहित ३२ रनको योगदान दिएका थिए । युएईले कमजोर सुरुवात गरेपनि पाँचौं विकेटका लागि बासिल हमिद र अली नासिरले ५६ रनको साझेदारी गर्दै प्रतिस्पर्धात्मक योगफल तयार पारेका थिए ।
एलिशान शराफु एज लागेर ६ रनमा आउट भएका थिए भने कप्तान मोहम्मद वासिम १८ बलमा १ चौका र १ छक्कासहित १७ रनमा गुलशन झाको सातौं ओभरको पहिलो बलमा कुशल भुर्तेलबाट क्याच आउट भएका थिए । आसिफ खान १२ बलमा २ चौकासहित १५ रन आउट भएका थिए ।
नेपालका लागि तीव्र गतिका बलर करण केसीले ४ ओभरमा १९ रन खर्चेर सर्वाधिक ३ विकेट लिएका थिए । गुलशन झाले ३ ओभरमा ११ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले ३ ओभरमा २१ रन खर्चेर १ विकेट लिएका थिए । अभिनाश बोहराले ४ ओभरमा ३८ रन खर्चेर १ विकेट लिए । अब नेपालले सिरिजको दोस्रो खेल भोलि बिहीबार हङकङसँग खेल्नेछ ।