काठमाडौं । नेपाल, यूएई र हङकङबीचको त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज आज बुधबारदेखि सुरु हुँदैछ । पहिलो खेलमा नेपाल र यूएईले खेल्दैछन् । नेपाल र यूएईबीचको खेल दिउँसो १ बजे माथिल्लो मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ ।
नेपालमै दुई सातापछि टियु र माथिल्लो मुलपानी मैदानमा हुने आईसीसी टी-२० विश्वकप एसिया छनोटको तयारी स्वरुप सिरिज हुन लागेको हो । नेपाल र यूएईले पछिल्लो पटक २०२२ फेब्रुअरीमा टी-२० आई विश्वकप छनोटमा खेलेका थिए ।
जहाँ सेमिफाइनलमा नेपाल यूएईसँग नै ६८ रनले पराजित हुँदै विश्वकप पुग्न असफल भएको थियो । यूएईले अष्ट्रेलियामा टी-२० आई विश्वकप खेलेको थियो । टी-२० आईमा नेपालले यूएईसँग अहिलेसम्म कुल पाँच खेल खेलेको छ । जसमा यूएई तीन खेलमा विजयी हुँदा नेपालले दुई खेल जितेको छ ।
त्रिदेशीय सिरिजका लागि नेपालले रोहित पौडेलको कप्तानीमा टिम तयार गरेको छ । ब्यक्तिगत समस्याका कारण यस सिरिजमा नेपालले सन्दीप लामिछानेलाई समावेश गरेको छैन । यसअघि ओडीआई खेल भइसकेको माथिल्लो मुलपानी क्रिकेट मैदानमा पहिलो पटक टी-२० आई खेल हुन लागेको हो ।
टी-२० आईको आजको खेलसँगै माथिल्लो मूलपानी क्रिकेट मैदानले अन्तर्राष्ट्रिय मान्यता पाउने छ । माथिल्लो मूलपानी क्रिकेट मैदानले ओडीआईको मान्यता भने यसअघि नै पाइसकेको छ । त्रिदेशीय सिरिजका लागि माथिल्लो मुलपानी क्रिकेट मैदानलाई चिटिक्क बनाइएको छ । त्रिदेशीय सिरिजका लागि टिकट २ सय नेपाली रुपैयाँ रहेको छ । क्यानको टिकेटिङ्ग पाट्नर आइएमी पे बाट उक्त टिकट काट्न सकिन्छ । सिरिजको हिमालय टेलिभिजनबाट लाइभ हुनेछ ।
त्रिदेशीय सिरिजको नेपालको खेल तालिका र समय
कार्तिक १ गते (अक्टोबर १८) : नेपालविरुद्ध युएई, मुलपानी – दिउँसो १ बजे
कार्तिक २ गते ( अक्टोबर १९) : नेपालविरुद्ध हङकङ, मुलपानी - दिउँसो ११ बजे
कार्तिक ४ गते (अक्टोबर २१) : नेपालविरुद्ध हङकङ, मुलपानी - दिउँसो ११ बजे
कार्तिक ६ गते (अक्टोबर २३) : नेपालविरुद्ध युएई, मुलपानी - दिउँसो ११ बजे
कार्तिक १० गते (अक्टोबर २७) : शीर्ष दुई टोली फाइनल, टियु मैदाान - दिउँसो ११ बजे
त्रिदेशीय सिरिजको लागि नेपालको टोली :
रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, प्रतिश जि.सी, ललितनारायण राजवंशी, अभिनाश बोहरा, विवेक यादव, सागर ढकाल, विनोद भण्डारी, लोकेश बम, सूर्य तामाङ र श्याम ढकाल ।