काठमाडौं । टाइम्स इन्टरनेसनल कलेजले अपराजित रहँदै राष्ट्रिय बास्केबल लिग (एनबिएल) को उपाधि जितेको छ । राउन्ड रोबिन लिगका आधारमा भएको एनबिएल प्रतियोगितामा टाइम्सले सबै ७ खेल जितेर उपाधि जितेको हो । उपाधिसँगै सदीश प्रधानको कप्तानीमा रहेको टाइम्सले ५ लाख रुपैयाँ प्राप्त गरेको छ ।
एनबिएल लिगका अन्तिम दुई खेल बाँकी रहँदा ७ खेलमा १४ अंकसहित टाइम्स च्याम्पियन बनेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रबार आफ्नो अन्तिम खेलमा टाइम्स कलेजले त्रिभुवन आर्मी क्लबलाई ११५–९० को स्कोरमा पराजित गर्यो ।
शुक्रबार सम्पन्न दोस्रो खेलको सुरुआती ३ क्वार्टर टाइम्स कलेजले क्रमशः २५-२१, ३३-२६, २८-१५ ले आफ्नो पक्षमा पार्दा चौथो तथा अन्तिम क्वार्टर २९-२९ को बराबरीमा सकिएको थियो । लिगको अन्तिम खेलमा ३३ स्काोर गरेका टाइम्स कलेजका अम्जोत सिंह खेलको 'प्लेयर अफ दी म्याच' बने ।
एनबिएलको जारी प्रतियोगितामा शुक्रबार भएको पहिलो खेलमा कीर्तिपुर बास्केबल क्लबले विशाल मिलन केन्द्रलाई ९५–७७ ले हराएको थियो । कीर्तिपुरले पहिलो सेट १७-२८ ले गुमाए पनि दोस्रो सेट २१-१८, तेस्रो सेट २३-१७, चौथो तथा अन्तिम सेट ३४-१४ ले आफ्नो पक्षमा पारेको थियो ।
विजेता टोलीबाट ३३ स्कोर गरेका कीर्तिपुरका अनिल खड्गी खेलको 'प्लेयर अफ दी म्याच' घोषित भए । जारी लिगमा आर्मी ७ खेलबाट १२ अंकका साथ दोस्रो स्थानमा र कीर्तिपुर ७ खेलबाट ११ अंकसहित तेस्रो स्थानमा रहेको छ । रोयल स्पोर्टस सेन्ट्रल ६ खेलबाट १० अंकसहित चौथो स्थानमा र बुढानिलकण्ठ बास्केबल क्लब ६ खेलबाट ९ अंक जोडेर पााँचौं स्थानमा रहेको छ ।
एनबिएल प्रतियोगिताको च्याम्पियन टाइम्स कलेज बनेसँगै उपविजेताको टुङ्गो भने शनिबारका खेलबाट लाग्नेछ । लिग चरणको अन्तिम २ खेलमा शनिबार बुढानीलकण्ड बास्केटबल क्लबले रोयल स्पोर्टस सेन्ट्रल तथा होउन्डस एकेडेमीले गोल्डेनगेन इन्टरनेसनल कलेजको सामना गर्नेछन् ।