काठमाडौं । कप्तान देव खनालको शतक र उत्कृष्ट बलिङको सहयोगमा नेपालले एसीसी यू–१९ प्रिमियर कपमा इरानमाथि सानदार जित हात पारेको छ । मलेसियामा बिहीबार भएको प्रतियोगिताको पहिलो खेलमा नेपालले इरानलाई २ सय ७४ रनले पराजित गरेको हो ।
नेपालले जितको लागि दिएको ३ सय ५४ रनको विशाल विजयी लक्ष्य पछ्याएको इरान ३० दशमलव ५ ओभरमा ७९ रनमा अलआउट भयो । इरानका लागि ओपनर आमेर खोर्सन्दले २२ बलमा १ चौका र ५ छक्कासहित सर्वाधिक ३७ रन बनाएका थिए ।
साबेर इब्राहिमपुरले ४३ बलमा १ चौकासहित ११ रनमा आउट भएका थिए । अन्य कुनैपनि इरानी ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका लागि दीपेश कँडेलले ७ ओभरमा ३ मेडनसहित ४ रन खर्चेर ३ विकेट लिएका थिए । सुवास भण्डारीले ८.५ ओभरमा ४ मेडनसहित ६ रन खर्चेर ३ विकेट लिए । हेमन्त धामी र आकाश चन्दले समान २/२ विकेट लिएका थिए ।
त्यसअघि, वाइएसडी युकेएम ओभल बाँगीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४० दशमलव १ ओभरमा ३ सय ५३ रनमा अल आउट भएको थियो । नेपालका लागि कप्तान देव खनालले ६० बलमा १२ चौका र ४ छक्कासहित सर्वाधिक १ सय रनको शतकीय इनिङ खेलेका थिए ।
देव खनाल नेपालबाट यू–१९ मा दुई शतक हान्ने पहिलो खेलाडी हुन् । देवले गत फागुनमा आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटमा कुवेतविरुद्ध १ सय २५ रनको शतकीय इनिङ खेलेका थिए । ओपनर दीपक बोहरा ५९ बलमा ५ चौका र २ छक्कासहित ६५ रनमा आउट भएका थिए ।
सुरुवाती १० रनमै दुई ब्याटर गुमाएको नेपालले तेस्रो विकेटका लागि देव खनाल र दीपक बोहराले १ सय ६६ रनको सानदार शतकीय साझेदारी गर्दै विशाल योगफलको आधार तय गरेका थिए । विकेटकिपर दीपक प्रसाद डुम्रे ४४ बलमा ८ चौका र २ छक्कासहित ६९ रनमा आउट भएका थिए ।
नेपालका ओपनर अर्जुन कुमाल र मिलन बोहरा गोल्डेन डक आउट आउट भएका थिए । आकाश त्रिपाठी ३ रनमा र दीपक बोहरा १ रनमै आउट भएका थिए । दीपेश कंडेल २२ बलमा ३ चौका र१ छक्कासहित २९ रनमा, हेमन्त धामी १९ बलमा २ चौका र १ छक्कासहित २३ रनमा, आकाश चन्द ११ बलमा ३ चौकासहित १९ रनमा र सुवास भण्डारी १८ रनमा आउट भएका थिए ।
इरानका लागि दद्रहमान राइसीले ९ ओभरमा ६७ रन खर्चेर ३ विकेट लिएका थिए । सलमान निज्मान्दले ८ ओभरमा ६२ रन खर्चेर ३ विकेट लिए । समान शेखी र जियाद राइसीले समान २/२ विकेट लिएका थिए । एसीसी यू–१९ प्रिमियर कप प्रतियोगिताका शीर्ष तीन टोलीले पाकिस्तानमा आगामी डिसेम्बरमा हुने एसिया कप खेल्न पाउनेछन् ।
समूह एमा रहेको नेपालले अब बहराइनसँग बायोमास ओभलमा (अक्टोबर १५) असोज २८ गते र साउदी अरबसँग वाईएसडी ओभलमा (अक्टोबर १९) कार्तिक २ गते खेल्नेछ । उपाधिका प्रमुख दाबेदार नेपाल प्रतियोगिताको विजेता बन्दै एसिया कपमा छनोट हुने लक्ष्यमा रहेको छ ।