काठमाडौं । कप्तान रोहित शर्माको विश्व कीर्तिमानी शतकमा भारतले आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा सानदार जित हात पारेको छ । बुधबार अरुण जेट्ली स्टेडियम दिल्लीमा भएको खेलमा भारतले अफगानिस्तानमाथि ८ विकेटको सानदार जित हात पारेको हो ।
अफगानिस्तानले जितको लागि दिएको २ सय ७३ रनको विजयी लक्ष्य पछ्याएको आयोजक भारतले ३५ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो । भारतका लागि कप्तान रोहित शर्माले ८४ बलमा १६ चौका र ५ छक्कासहित सर्वाधिक १ सय ३१ रनको कीर्तिमानी शतकीय इनिङ खेलेका थिए ।
कप्तान रोहित शर्माको विश्वकपमा यो सातौं शतक हो । रोहितले यसअघि सन् २०१५ को विश्वकपमा एक शतक र २०१९ को विश्वकपमा पाँच शतक हानेका थिए । रोहितले भारतका पूर्व कप्तान सचिन तेन्दुलकरको सर्वाधिक ६ शतकको कीर्तिमान तोडेका हुन् ।
इशान किशन ४७ बलमा ५ चौका र २ छक्कासहित ४७ रनमा आउट भएका थिए । पहिलो विकेटका लागि ईशान किशन र रोहित शर्माले १८.४ ओभरमा १ सय ५६ रनको सानदार शतकीय साझेदारी गरेका थिए । विराट कोहलीले ५६ बलमा ६ चौकासहित अविजित ५५ रनको अर्धशतकीय इनिङ खेलेका थिए ।
भारतका श्रेयस ऐर २३ बलमा १ चौका र १ छक्कासहित २५ रनमा नट आउट रहेका थिए । अफगानिस्तानका लागि राशिद खानले ८ ओभरमा ५७ रन खर्चेर २ विकेट लिएका थिए । भारतका कप्तान रोहित शर्मा राशिद खानको बलमा बोल्ड भएका थिए ।
त्यसअघि, टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ७२ रन बनाएको थियो । अफगानिस्तानका लागि कप्तान हश्मातुल्लाह शाहिदीले ८८ बलमा ८ चौका र १ छक्कासहित सर्वाधिक ८० रनको अर्धशतकीय इनिङखेले पनि त्यो जितको लागि पर्याप्त भएन ।
त्यस्तै, आजमतुल्लाह ओमरजाईले ६९ बलमा २ चौका र ४ छक्कासहित ६२ रनको अर्धशतकीय इनिङ खेलेका थिए । चौथो विकेटका लागि शाहिदी र ओमरजाईले १ सय २१ रनको महत्वपूर्ण शतकीय साझेदारी गर्दै प्रतिस्पर्धात्मक योगफल तयार पारेका थिए ।
अफगानिस्तानका ओपनर रहमाउल्लाह गुरबाज २८ बलमा ३ चौका र १ छक्कासहित २१ रनमा र अर्का ओपनर इब्राहिम जद्रान २८ बलमा ४ चौकासहित २२ रनमा आउट भएका थिए । त्यस्तै, मोहम्मद नाबी १९ रनमा, रहमात शाह र राशिद खान समान १६/१६ रनमा, मुजिब उररहमान १० रनमा र नविन उल हक ९ रनमा आउट भएका थिए ।
भारतका लागि तीव्र गतिका बलर जस्प्रित बुमराहले १० ओभरमा ३९ रन खर्चेर सर्वाधिक ४ विकेट लिएका थिए । हार्दिक पान्ड्याले ७ ओभरमा ४३ रन खर्चेर २ विकेट लिए । शार्दुल ठाकुर र कुलदीप यादवले समान १/१ विकेट लिएका थिए ।
आयोजक भारतले पहिलो खेलमा अष्ट्रेलियालाई ६ विकेटले हराएको थियो । अफगानिस्तान पहिलो खेलमा बंगलादेशसँग ६ विकेटले हारेको थियो । अव भारतले शनिबार नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा पाकिस्तानसँग खेल्नेछ भने अफगानिस्तानले आइतबार दिल्लीमा इंग्ल्यान्डसँग खेल्नेछ ।