काठमाडौं । अष्ट्रेलियालाई हराउँदै आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आयोजक भारतले विजयी सुरुआत गरेको छ । चेन्नईस्थित चिदम्बर क्रिकेट रंगशालामा आइतबार भएको खेलमा भारतले अस्ट्रेलियालाई ६ विकेटले हराएको हो ।
अस्ट्रेलियाले जितको लागि दिएको २ सय रनको मध्यम विजयी लक्ष्य भारतले ४१ आभर २ बलमा ४ विकेट गुमाएर पुरा गर्यो । भारतका लागि के.एल. राहुलले १ सय १५ बलमा ८ चौका र २ छक्कासहित अविजित ९७ रनको योगदान गरेका थिए ।
यसैगरी विराट कोहलीले १ सय १६ बलमा ६ चौकासहित ८५ रन जोडेका थिए । एक समय भारत २ ओभरमा ३-२ को दयनीय अवस्थामा पुगेको थियो । प्रमुख तीन ब्याटर शून्यमा आउट भएपनि चौथो विकेटका लागि कोहली र राहुलले १ सय ६५ रनको साझेदारी गर्दै जित पक्का गराएका थिए ।
अष्ट्रेलियाका लागि तीव्र गतिका बलर जोश हेजलवुडले ९ ओभरमा १ मेडनसहित ३८ रन खर्चेर ३ विकेट लिएका थिए । मिचेल स्टार्कले ८ ओभरमा ३१ रन खर्चेर १ विकेट लिएका थिए ।
त्यसअघि , टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ४९ ओभर ३ बलमा अलआउट हुँदै १ सय ९९ रन मात्रै बनाएको थियो । अष्ट्रेलियाका लागि स्टिभ स्मिथले ७१ बलमा ५ चौकासहित सर्वाधिक ४६ रन बनाएका थिए । ओपनर डेविड वार्नरले ५२ बलमा ६ चौकासहित ४१ रन बनाएका थिए ।
अष्ट्रेलियाका मिचेल स्टार्क ३५ बलमा २ चौका र १ छक्कासहित २८ रनमा, कप्तान प्याट कमिन्स २४ बलमा १ चौका र १ छक्कासहित १५ रनमा र क्यामरन ग्रीन ८ रनमा आउट भएका थिए । भारतका लागि रविन्द्र जडेजाले १० ओभरमा २ मेडनसहित २८ रन खर्चेर ३ विकेट लिए ।
कुलदीप यादवले १० ओभरमा ४२ रन खर्चेर २ विकेट लिए । जस्प्रित बुमराहले १० ओभरमा ३५ रन खर्चेर २ विकेट लिए । हार्दिक पान्ड्या, मोहम्मद शिराज र रविचन्द्रन आश्विनले समान एक विकेट लिए । भारतले अव बुधबार अफगानिस्तानसँग खेल्नेछ । अष्ट्रेलियाले बिहीबार दक्षिण अफ्रिकासँग खेल्नेछ ।
एक दिवसिय विश्वकप क्रिकेटमा सोमबार नेदरल्याण्ड्स र न्युजिल्याण्ड भिड्नेछन् । पहिलो खेलमा इंग्ल्याण्डलाइ हराएको न्युजिल्याण्ड यो खेलमा लगातार दोस्रो जितको खोजीमा छ भने पहिलो खेलमा पाकिस्तानसँग हारेको नदेरल्याण्ड्स पहिलो जितको खोजीमा रहनेछ ।