काठमाडौं । हाङझाउमा जारी १९ औं एसियाली खेलकुदको एथलेटिक्सतर्फ पुरुष १० हजार मिटर दौडमा नेपालका दीपक अधिकारीले राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । हाङझाव ओलम्पिक स्पोर्ट्स सेन्टरमा शनिबार भएको स्पर्धामा दीपकले निर्धारित दूरी २९ मिनेट ३५ दशमलव ०६ सेकेन्डमा पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन् ।
उनले सन् २०१४ मा दक्षिण कोरियाको इन्चोनमा भएको १७ औं एसियाली खेलकुदमा गोपीचन्द्र पार्कीले बनाएको कीर्तिमान् भंग गरेका हुन् । गोपीले ३० मिनेट ३० दशमलव ९९ सेकेन्डको कीर्तिमान बनाएका थिए । दीपक ९ वर्षपछि सो कीर्तिमान् तोड्न सफल भए । एसियाडमा दीपक नयाँ राष्ट्रिय कीर्तिमान बनाउने एक नेपाली खेलाडी समेत बनेका छन् ।
बक्सिङ :
एसियाली खेलकुदअन्तर्गत बक्सिङको महिला ७५ केजीमुनि नेपालकी सरस्वती राना पराजित भएकी छन् । हाङझाव जिम्न्याजिममा भएको क्वाटरफाइनलमा भियतनामकी क्विन्ह डिम लुले सरस्वतीलाई ४–१ अंकले पराजित गरिन् । यससंगै बक्सिङमा नेपाली खेलकुदको यात्रा सकिएको छ । व्यक्तिगत स्पर्धामा नेपालबाट सर्वाधिक खेलाडी सहभागी भएको खेल बक्सिङ हो । बक्सिङमा १३ खेलाडीले नेपालको चुनौती प्रस्तुत गरेका थिए ।
भारोत्तोलन :
हाङझाव एसियाडको भारोत्तोलनतर्फ महिला ५५ केजीको प्रतिस्पर्धामा नेपालकी टीकामाया गुरुङ शनिबार बाहिरिएकी छन् । एक्सएससी जिम्न्याजिममा भएको समूह ‘ए’ को खेलमा टीकाले स्न्याचमा ६० र क्लिन एन्ड जर्कमा ८६ गरी जम्मा १४६ केजी भार वहन गरिन् । स्न्याचमा टीकाले पहिलो र दोश्रो लिफ्टमा पनि ६० केजी भार उचाल्ने प्रयास गरेपनि सफल भइनन् । क्लिन एन्ड जर्कमा टीकाले पहिलो लिफ्टमा ८० तथा दोश्रो लिफ्टमा ८६ केजी तौल उठाइन् । क्लिन एन्ड जर्कको आफ्नो तेश्रो लिफ्टमा टीकाले ९० केजी तौल उचाल्ने प्रयास गरेकी थिइन् । टीका ९० केजी तौल उठाउन असफल रहिन् ।
इ स्पोर्ट्स :
इस्पोर्ट्सको पब्जी मोबाइलमा पदक जित्ने नेपालको आशा समाप्त भएको छ । चाइना हाङझाउ इस्पोर्ट्स सेन्टरमा शनिबार भएको समूह ‘ए’ को सेमिफाइनलमा दक्षिण कोरिया र चाइनिज ताइपेईसँग पराजित भएपछि नेपालको पदक सम्भावना सकिएको हो । सेमिफाइनलमा नेपाका सुबिनकुमार प्रजापति, दिपेश गुरुङ, साहस भण्डारी र समिर गुरुङले प्रतिस्पर्धा गरेका थिए ।
नेपाल शुक्रबार भएको एलिमिनेसन राउन्डको समूह ‘सी’ मा दोस्रो हुँदै सेमिफाइनलमा प्रवेश गरेको थियो । त्यस्तै डोटा २ मा पनि नेपाल पराजित भएसंगै इ स्पोर्ट्समा नेपालको चुनौती समाप्त भएको छ । नेपाल किर्गिस्तानसंग २–० ले पछि पर्यो ।
भलिबल :
महिला भलिबलमा नेपाल ३–० को सोझो सेटमा पराजित भएको छ । भियतनामले नेपालाई २५–४, २५–१६ र २५–१३ को सेटमा हरायो । समूह ‘सी’ को अर्को खेलमा नेपालले सोमबार दक्षिण कोरिया विरुद्ध प्रतिस्पर्धा गर्ने छ । एसियाडको महिला भलिबलमा नेपाल पहिलो सहभागी भएको हो ।
ट्रायथलन :
ट्रायथलनको महिला व्यक्तिगत स्पर्धामा नेपालकी श्रेबी महर्जन १७ औं भएकी छन् । २१ खेलाडी सहभागी स्पर्धामा कुवेत, युएइ, कम्बोडिया र जोर्डनका खेलाडीले स्पर्धा पूरा गर्न सकेनन् । श्रेबीले १ हजार ५ सय मिटरको पौडी, ४० किलोमिटरको साइक्लिङ र १० किलोमिटरको दौड जम्मा २ घण्टा २५ मिनेट र १३ सेकेन्डमा पूरा गरिन् । ट्रायथलनमा नेपालबाट समान २–२ पुरुष÷महिला गरी ४ खेलाडी सहभागी छन् । जापानकी युको ताकाहासीले स्वर्ण, चीनको चिन्यु लिनले रजत र चीकै यिफान याङले कांस्य जिते ।
ह्यान्डबल :
महिला ह्यान्डबलमा नेपालको चुनौती शनिबार समाप्त भएको छ । समूह ‘बी’ को चौथो तथा अन्तिम खेलमा भारतले नेपाललाई ४४–१९ ले पराजित गर्यो । नेपालका लागि कप्तान बन्दना राईले ७, उमा राईले ६, कल्पना सिन्जाली र आइत लोमु शेर्पाले समान २–२ तथा सम्झना कुमाल र रामकुमारी चौधरीले समान १–१ गोल गरे । समूह चरणको पहिलो खेलमा नेपाल चीनसंग ५७–१०, दोश्रोमा जापानसंग ६२–१० र तेश्रोमा हङकङ चाइनासंग २७–१८ ले हारेको थियो ।