काठमाडौं । नेपाल १९ औं एसियाली खेलकुद अन्तर्गत टि-२० आई पुरुष क्रिकेटमा माल्दिभ्समाथि शानदार जित सहित क्वार्टरफाइनलमा प्रवेश गरेको छ । आईतबार बिहान माल्दिभ्सलाई १ सय ३८ रनले हराउँदै नेपाल अन्तिम ८ मा प्रवेश गरेको हो ।
नेपालले जितको लागि दिएको २ सय १३ रनको विशाल विजयी लक्ष्य पछ्याएको माल्दिभ्स १९.४ ओभरमा ७४ रनमै अलआउट भयो । माल्दिभ्सका लागि घानी अब्दुलले ३४ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ३६ रन बनाएका थिए ।
तीव्र गतिका बलर सोमपाल कामीले पहिलो ओभरको चौथो बलमै माल्दिभ्सका ओपनर राफीज अजिन मोहम्मदलाई शून्यमा आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए । फरिद शिउस २१ बलमा २ चौकासहित १० रनमा तीव्र गतिका बलर अभिनाश बोहराको छैटौं ओभरको तेस्रो बलमा आउट भएका थिए । अभिनाशले नै चौथो बलमा बदिउ इस्माल नजावानलाई शून्यमा एलबीडब्लू आउट गरेका थिए ।
अभिनाशले छैटौं ओभरको अन्तिम बलमा थोलाल मोहम्मद रियानलाई शून्यमा एलबीडब्लू आउट गरेका थिए । सातौं ओभरको पहिलो बलमा नै गुलशन झाले ओपनर अली इस्माइललाई ३ रनमा क्याच आउट गरेका थिए । माल्दिभ्सका रसिद रसम २९ बलमा १२ रनमा नटआउट रहेका थिए ।
नेपालका लागि अभिनाश बोहराले घातक बलिङ गर्दै ३.४ ओभरमा ११ रन खर्चेर सर्वाधिक ६ विकेट लिएका थिए । उनी टि-२० आईमा ६ विकेट लिने पहिलो नेपाली बलर हुन् । यसअघि सन्दीप लामिछाने र करण केसीले समान ५/५ विकेट लिएका थिए । नेपालका सोमपाल कामी, सन्दीप लामिछाने, गुलशन झा र कुशल भुर्तेलले समान १/१ विकेट लिएका थिए ।
त्यसअघि, चीनको हांग्जाउमा टस जितेर सुरुआती ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर विशाल २ सय १२ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले २७ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ५२ रन बनाएका थिए ।
ओपनर कुशल भुर्तेल १८ बलमा ५ चौका र १ छक्कासहित ३५ रनमा आउट भएका थिए । कुशल तीव्र गतिका बलर मिउभान मोहमदको बलमा एलबीडब्लू आउट हुन पुगेका थिए । नेपालले ओपनर आसिफ शेखलाई ८ बलमा १ चौकासहित ६ रनमा गुमाएको थियो ।
नेपाली टोलीमा एक वर्षपछि खेल्ने मौका पाएका विकेटकिपर विनोद भण्डारीले १५ बलमा १ चौकासहित १३ रनमा आउट भएका थिए । सन्दीप जोरा ९ बल खेल्दै ५ रनमा क्याच आउट भएका थिए ।
गुलशन झा २१ बलमा १ चौका र ३ छक्कासहित ३५ रनमा आउट भएका थिए । पाँचौं विकेटका लागि गुलशन झा र रोहित पौडेलले ७० रनको साझेदारी गरेका थिए । कुशल मल्ल २० बलमा ३ चौका र ३ छक्कासहित ४७ रनमा नटआउट रहेका थिए ।
माल्दिभ्सका लागि बदिउ इस्माइल नवाजले ४ ओभरमा १७ रन खर्चेर सर्वाधिक ३ विकेट लिएका थिए । त्यस्तै, नासिर इस्माइल, मोहमद मिभान र थालाल रोयले समान १/१ विकेट लिएका थिए ।
जितसँगै नेपाल समूह 'ए' मा पहिलो हुँदै क्वार्टरफाइनलमा प्रवेश गरेको छ । पहिलो खेलमा मंगोलियाविरुद्ध विश्व कीर्तिमानी २ सय ७३ रनको जित निकालेको नेपालले समूह चरणको अन्तिम खेलमा माल्दिभ्समाथि शानदार जित सहित अन्तिम ८ को यात्रा तय गरेको हो ।
नेपालले क्वाटरफाइनलमा टेस्ट टोली भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान मध्य एक टोलीसँग खेल्नुपर्ने हुन्छ । समूह 'सी' बाट मलेसिया क्वाटरफाइनलमा आएको छ । समूह 'बी' मा आज जापान र हङकङबीच प्रतिस्पर्धा हुँदैछ । उक्त खेलको विजेता टोली क्वाटरफाइनलमा आउनेछ ।
क्वाटरफाइनलको ड्र सोमबार हुनेछ । क्वाटरफाइनलका खेलहरु मंगलबार र बुधबार हुनेछन् । शुक्रबार सेमिफाइनल खेल र शनिबार फाइनल खेल हुनेछ । एसियाडमा क्रिकेटलाई नेपालले पदकको दाबेदार टोलीको रुपमा हेरिएको छ ।