काठमाडौं । बायाँ हाते युवा ब्याटर कुशल मल्ल र दीपेन्द्र सिंह ऐरीको विश्व कीर्तिमानी ब्याटिङमा नेपालले टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा मंगोलियाविरुद्ध रेकर्ड नै रेकर्ड बनाएको छ । चीनको हांग्जाउमा टस हारेर सुरुआती ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै ३ सय १४ रन बनायो । नेपालले यो टि-२० आई इतिहासकै उच्च योगफल हो ।
कुशल मल्लले विश्व कीर्तिमानी शतक र दीपेन्द्र सिंह ऐरीले कीर्तिमानी अर्धशतक प्रहार गर्दा नेपालले टि-२० आईमा कीर्तिमानी स्कोर बनाएको हो । नेपालका लागि कुशल मल्ल ५० बलमा ८ चौका र १२ छक्कासहित सर्वाधिक १ सय ३७ रनमा नटआउट रहेका थिए ।
कुशल मल्लले ३४ बलमै शतक प्रहार गरेका थिए । कुशल टि-२० आई इतिहासमा सर्वाधिक छिटो शतक प्रहार गर्ने ब्याटर बनेका छन् । यसअघि टि-२० आईमा भारतका रोहित शर्मा, दक्षिण अफ्रिकाका डेविड मिलर र चेकरिपब्लिकनका सुदेश विक्रम शेखरले समान ३५ बलमा बनाएका थिए ।
नेपालबाट भने २०१९ मा पारस खड्काले सिंगापुरविरुद्ध ४९ बलमा शतक पूरा गरेका थिए । विष्फोटक ब्याटिङ गरेका दीपेन्द्रसिंह ऐरी १० बलमा ८ छक्कासहित ५२ रनमा क्रिजमा नटआउट रहे । दीपेन्द्रले ९ बलमै अर्धशतक पूरा गरेका थिए । दीपेन्द्रले भारतीय ब्याटर युवराज सिंहको १२ बलको कीर्तिमान तोडेका हुन् ।
कप्तान राहित पौडेल २७ बलमा २ चौका र ६ छक्कासहित ६१ रनमा आउट भएका थिए । तेस्रो विकेटका लागि कुशल मल्ल र रोहित पौडेलले १ सय ९३ रनको साझेदारी गरेका थिए । यो कुनैपनि खेलमा नेपाली ब्याटरले गरेको उच्च साझेदारी हो ।
नेपालका ओपनर कुशल भुर्तेल २३ बलमा २ चौकासहित १९ रनमा र आसिफ शेख १७ बलमा २ चौकासहित १६ रनमा क्याच आउट भएका थिए । मंगोलियाका लागि इरडेनबुलगन, जमेनसुरेन र अल्टनखुयागले समान १/१ विकेट लिएका थिए ।