काठमाडौँ । लि–निङ्ग नेपालले एसियन गेम्समा सहभागी म्याराथन धावकद्वय राजन खत्री र पुष्पा भण्डारीलाई प्रायोजन गरेको छ । लि–निङ्ग नेपालले एसियन गेम्सको एथलेटिक्स विधामा म्याराथन स्पर्धामा दौडने नेपालका दुई धावकलाई प्रयोजन गरेको हो ।
राष्ट्रिय खेलकुद परिषद् राखेपमा बिहीबार कार्यक्रमको आयोजना गरेर लि–निङ्गले प्रायोजनको रुपमा रहेको किट्स खेलाडीलाई उपलब्ध गराएको हो । राखेपका निमित्त सदस्य सचिव प्रकास कुमार कुसारी, लि–निङ्ग नेपालको आधिकारिक बिक्रेता चाइना ट्रेड लिंक प्रालीका प्रबन्ध निर्देशक राजन महर्जन, निर्देशक रमिन महर्जन र नेपाल एथलेटिक्स संघका सचिव आरके विष्टले खेलाडीलाई किट्स हस्तान्तरण गरेका थिए ।
सम्झौता अनुसार लि–निङ्गले खेलाडीलाई म्याराथनका लागि बनेको अन्तराष्ट्रिय गुणस्तरको जुत्ता र आवश्यक जर्सी उपलब्ध गराउनेछ । एसियाडमा म्याराथन दौडने खेलाडीद्वयले लि–निङ्गको किट्स प्रयोग गर्नेछन् ।
नेपालबाट एथलेटिक्समा ८ खेलाडीले विभिन्न स्पर्धामा सहभागीता जनाउँदैछन् । जसमा म्याराथन विधामा पुरुषमा राजन खत्री र महिलामा पुष्पा भण्डारीले प्रतिस्पर्धा गर्दैछन् ।
राखेपका निमित्त सदस्य सचिव प्रकास कुमार कुसारीले नीजि क्षेत्रको सहयोगबाट मात्र खेलाडी र खेलकुदको विकासमा टेवा पुग्ने भन्दै प्रायोजनका लागि लि–निङ्ग नेपाललाई धन्यबाद दिएका थिए । उनले नीजि क्षेत्रको लगानी खेलकुदमा गराउन परिषद्ले गृहकार्य गरिरहेको जानकारी गराएका थिए ।
लि–निङ्ग नेपालका प्रमुख राजन महर्जनले लामो दुरीको दौडमा नेपालको गौरवमय इतिहास रहेको बताउँदै नेपाली खेलाडीले एसियाडमा राम्रो चुनौती दिन सक्ने बताए । उनले आगामी दिनमा समेत एथलेटिक्स सहित खेलकुदका अन्य विधामा आफ्नो संस्थाको निरन्तर सहयोग रहने उल्लेख गरे ।
संघका सचिव आरके विष्टले खेलाडीलाई प्रायोजन गरि सहयोग गरेकोमा लि–निङ्गलाई धन्यबाद दिए । उनले आगामी दिनमा समेत एथलेटिक्समा नीजि क्षेत्रको सहयोग निरन्तर रहनेमा आफु विश्वस्त रहेको बताए ।