काठमाडौं । इंग्ल्यान्डले न्युजिल्यान्डलाई चौथो ओडिआई खेलमा फराकिलो अन्तरले हराउँदै सिरिज जितेको छ । लर्डसमा शुक्रबार भएको खेलमा घरेलु टोली इंग्ल्यान्डले न्युजिल्यान्डलाई १ सय रनको फराकिलो अन्तरले हराउँदै चार खेलको सिरिज ३-१ ले जितेको हो ।
इंग्ल्यान्डले जितको लागि दिएको ३ सय १२ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्ड ३८.२ ओभरमा २ सय ११ रनमा अल आउट भयो । न्युजिल्यान्डका लागि रचिन रविन्द्रले ४८ बलमा ३ चौका र ४ छक्कासहित सर्वाधिक ६१ रनको अर्धशतकीय ईनिङ खेलेका थिए ।
हेनरी निकोल्सले ४८ बलमा २ चौका र १ छक्कासहित ४१ रन, ग्लेन फिलिप्सले २५ रन, विल योंगले २४ रन बनाएका थिए । न्युजिल्यान्डका बाँकी खेलाडीको प्रदर्शन निकै कमजोर रह्यो । कायल जेमिसन १५ रन, टम लाथम १३ रन, डेभन कन्वे ७ रन र डर्याल मिचेल ४ रनमा आउट भएका थिए ।
न्यूजिल्याण्डलाई कम स्कोरमा रोक्न घरेलु टोली इंग्ल्यान्डका मोयन अलीले १० ओभरमा ५० रन खर्चेर सर्वाधिक ४ विकेट लिएका थिए । यस्तै, डेविड विल्ली, बायडन केस, साम करन र लियाम लिभिङस्टोनले समान १/१ विकेट लिएका थिए ।
त्यसअघि, टस जितेर पहिला ब्याटिङ रोजेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३ सय ११ रन बनाएको थियो । इंग्ल्यान्डका लागि ओपनर डेविड मलानले १ सय १४ बलमा १४ चौका र ३ छक्कासहित १ सय २७ रनको शतकीय इनिङ खेलेका थिए ।
मलानले ९६ बलमा आफ्नो ओडिआई करिअरको पाँचौं शतक पूरा गरेका थिए । मलान नै सिरिजको सर्वोत्कृष्ट खेलाडी बने । मलानले न्युजिल्यान्डविरुद्धको सिरिजमा २ सय ७७ रन बनाएका थिए । मलान बाहेक इंग्ल्यान्डका अन्य ब्याटरले ठूलो इनिङ खेल्न सकेनन् ।
इंग्ल्यान्डका कप्तान जस बटलर ३१ बलमा ३ चौका र १ छक्कासहित ३६ रन, जो रुट २९ रन, लियाम लिभिङस्टोन २८ रन, साम करन २० रन, डेविड विल्ली १९ रन, ओपनर जोनी बेयरस्टो १३ रन, ह्यारी ब्रुक १० रन र मोईन अली ३ रनमा आउट भएका थिए ।
न्युजिल्यान्डका लागि स्पिनर रचिन रविन्द्रले १० ओभरमा ६० रन खर्चेर सर्वाधिक ४ विकेट लिएका थिए । तीव्र गतिका बलर म्याट हेनरीले १० ओभरमा ६९ रन खर्चेर २ विकेट लिए । डर्याल मिचेलले ७ ओभरमा ४० रन खर्चेर २ विकेट लिएका थिए ।
चार खेलको सिरिजमा न्युजिल्यान्ड पहिलो खेलमा ८ विकेटले विजयी भएको थियो । त्यसपछि, घरेलु टोली इंग्ल्यान्डले न्युजिल्यान्डलाई ७९ रनले, १ सय ८१ रनले र १ सय रनले हराउँदै सिरिज ३-१ ले जितेको हो ।