पोखरा । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का उपाध्यक्ष शिव कोइराला(ज्वाला)ले नेपाली खेलकुद परिवर्तनको अभियानमा रहेको बताएका छन् । अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आईटिएफ) नेपालको सातौं महाधिवेशनलाई सोमबार पोखरामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
नेपाली खेलकुदमा आईटिएफले आफ्नो प्रभाव पार्न सफल भएकोमा प्रशंसा गर्दै उपाध्यक्ष कोइरालाले नेपाली खेलकुदलाई परिवर्तनको अभियानमा अघि बढाउन परिषद् अघि बढेको बताए । उनले भने, ‘नेपाली खेलकुदमा अझै धेरै काम गर्न बाँकी रहेको छ । राखेपले धेरै चुनौतीका बाबजुद परिवर्तनको अभियानमा अघि बढाउने प्रयासमा छौं । नेपाली राजनीतिले जबसम्म खेलकुदका समस्या पहिल्याउन सक्दैन तबसम्म हामीले सोचे जस्तो गरि परिवर्तन सम्भव छैन ।’
नेपाली खेलकुदको परिवर्तनका लागि परिषद्ले आफ्नो जिम्मेवारी गहन रुपमा अघि बढाएको बताउँदै एक देश एक तेक्वान्दो अभियानमा अघि बढ्नु पर्ने कुरामा जोड दिदैँ उपाध्यक्ष कोइरालाले योजनासहित अघि बढ्न समेत आग्रह गरे ।
उनले राखेपको कर्मचारीहरुको पदपूर्तिका लागि ओएनएम सर्भे समेत बुझाउने गरी तयार गरिरहेको बताउँदै भने, ‘ओएनएम सर्भेको प्रतिवेदन आइसकेपछि नेपाली खेलकुदमा आवश्यक्ता अनुसार कर्मचारीहरुको पदपूर्ती हुने मात्रै छैन नेपाली खेलकुदलाई सकारात्मक परिवर्तनको अभियानमा अघि बढाउन भूमिका खेल्नेछ ।’ आईटिएफमार्फत नेपाली युवाहरुलाई मार्गदर्शनका लागि भूमिका खेल्न आग्रह गर्दै उपाध्यक्ष कोइरालाले त्यो अभियानका लागि नयाँ नेतृत्वले भूमिका खेल्नेमा आफू विश्वस्त रहेको बताए ।
सो अवसरमा राखेपका निमित्त सदस्य–सचिव अन्जन धमालाले तेक्वान्दो जिवनको अभिन्न अङ्गको रुपमा रहेको उल्लेख गर्दै आइटिएफले खेलकुदसंगै विभिन्न सामाजिक अभियानमा आफूलाई अग्रपंक्तिमा उभ्याएको दाबी गरे । महासंघका निवर्तमान अध्यक्षसमेत रहेका उनले नेपाली खेलकुद नयाँ सोचका साथ अघि बढेको बताउँदै आफ्नो कार्यकालमा महासंघलाई यो अवस्थासम्म ल्याउन सहयोग गर्नेहरु प्रति आभार व्यक्त गरे । उनले आफ्नो कार्यकालमा आईटिएफले गरेका विभिन्न गतिविधिका बारेमा समेत प्रतिवेदन प्रस्तुत गरेका थिए ।
आईटिएफ नेपालका तदर्थ समितिका अध्यक्ष प्रविनकुमार कार्कीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा राखेपका सदस्य प्रकाशकुमार कुशारीले खेलकुदलाई व्यवसायिक बनाउँदै राष्ट्रिय अर्थतन्त्रमा पुर्याउने गरि विकास गर्नुपर्ने कुरामा जोड दिए ।
सो अवसरमा अग्रज खेलाडी खड्गबहादुर रानाभाट, आईटिएफ नेपालका उपाध्यक्ष राजु खड्का र महासचिव अन्जु राउतलगायतले आफ्ना भनाइ राखेका थिए ।
अधिवेशनमा ५५ जिल्ला र सात प्रदेशका गरि १६० भन्दा बढी प्रतिनिधिहरुको सहभागिता रहेको छ । अधिवेशनले आईटिएफ नेपालको नयाँ नेतृत्व चयन समेत गर्ने छ ।