काठमाडौं । ग्लोबल नेपाली फिल्म अवार्डको छैटौं संस्करण शनिबार बेलुका अमेरिकाको न्युयोर्कमा सम्पन्न भएको छ । उक्त समारोहमा विभिन्न विधाअन्तर्गत चलचित्र तथा कलाकर्मीमध्ये सर्वोत्कृष्टलाई पुरस्कार वितरण गरियो ।
यसपटक(२०२३)को पुरस्कार समारोहमा सर्वोत्कृष्ट अभिनेतातर्फको पुरस्कार अनमोल केसीले जितेका छन् भने सर्वोत्कृष्ट अभिनेत्रीको पुरस्कार स्वस्तिमा खड्काले जितेकी छन् । समारोहमा अनमोलको उपस्थिति थियो भने स्वस्तिमा अनुपस्थित थिइन् । सर्वोत्कृष्ट डायस्पोरा चलचित्रको पुरस्कार ‘लक्का जवान’ले जितेको छ । ‘प्रेमगीत ३’ सर्वश्रेष्ठ फिल्म घोषित हुँदा सन्तोष सेनले सर्वोत्कृष्ट निर्देशकको अवार्ड प्राप्त गरे । शिव विक वर्षका सर्वश्रेष्ठ नृत्य निर्देशक बने ।
चरित्र अभिनेता पुरुषतर्फ वरिष्ठ कलाकार सुनिल थापा तथा चरित्र अभिनेत्रीको पुरस्कार प्रियंका कार्कीलाई प्रदान गरिएको छ । चलचित्र दीर्घ साधना सम्मान ४० वर्षसम्म चलचित्र उद्योगमा योगदान गरे बापत शिव श्रेष्ठलाई प्रदान गरिएको छ । वर्षकी उत्कृष्ट गायिकामा प्रविशा अधिकारीलाई पुरस्कार प्रदान गरिएको छ भने उत्कृष्ट नृत्य निर्देशकको पुरस्कार शिव बिकलाई प्रदान गरिएको छ ।
अभिनेता सरोज खनाललाई चलचित्र सिद्धि पुरस्कार प्रदान गरिएको छ । सुवास बि थापालाई डायसपोरा अभिनेताको पुरस्कार प्रदान गरिएको छ । उत्कृष्ट निर्देशकमा सन्तोष सेनलाई प्रदान गरिएको छ । प्रोत्साहन पुरस्कार अनिल पाण्डे, विक्रान्त बस्नेत, केदार उप्रेती, सन्तोष रामदाम र शिव पुरीले प्राप्त गरे ।
यसपटकको अवार्डका जुरीमा कृष्ण मल्ल, रविन्द्र खड्का, शर्मिला मल्ल, नारायण प्रधान र दुर्गा बिसुराल थिए । अवार्ड समारोहमा निशा सुनार, स्मिता दाहाल, वसन्ती राई, रामप्रसाद खनाल लगायतले सांगीतिक र नृत्य प्रस्तुति दिए । मिस नेपाल नर्थ अमेरिका जुवली शेर्पा र उपविजेता ईशा सुवेदीलाई पनि सम्मान प्रदान गरियो । समारोहमा सहभागी हुन भुवन, सरोज, शिव, रविन्द्रसहित अनमोल केसी, जिया केसी, निखिल उप्रेती, आयुष्मान जोशी लगायत न्युयोर्क गएका थिए ।
नेपाल फिल्म सोसाइटी, ग्लोबल नेपाली फिल्म अवार्ड, गोल्डेन स्टेट मुभी मेकर र ८८४८ मिडिया हाउस एलएलसीले संयुक्त रूपमा समारोहको आयोजना गरेका हुन् । न्युयोर्कको ड्रिम्स युनिभर्सल एलएलसीले आतिथ्यता गरेको हो, जसका प्रमुख शैलेश श्रेष्ठ हुन् । –एजेन्सी