काठमाडौं । घरेलु टोली वेस्टइन्डिजले भारतविरुद्धको पाँच खेलको टी-२० सिरिजको उपाधि जितेको छ । अमेरिकाको फ्लोरिडामा भएको अन्तिम निर्णायक खेलमा भारतलाई ८ विकेटले हराउँदै वेस्टइन्डिजले पाँच खेलको सिरिज ३-२ ले जितेको हो ।
भारतले जितको लागि दिएको १ सय ६६ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिजले ब्रेन्डन किंगको विस्फोटक ब्याटिङमा १८ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । वेस्टइन्डिजको जितमा ओपनर ब्रेन्डन किंगले ५५ बलमा ५ चौका र ६ छक्कासहित अविजित ८५ रनको अर्धशतकीय ईनिङ खेलेका थिए ।
यसैगरी निकोलस पुरन ३५ बलमा १ चौका र ४ छक्कासहित ४७ रनमा र कायल मेयर्स १० रनमा आउट भएका थिए । शाई होप १३ बलमा १ चौका र १ छक्कासहित २२ रनमा नटआउट रहेका थिए । भारतका लागि अर्शदीप सिंह र तिलक बर्माले समान १/१ विकेट लिएका थिए ।
त्यसअघि, टस जितेर पहिला ब्याटिङको गरेको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६५ रन बनाएको थियो । भारतका सूर्यकुमार यादवले ४५ बलमा ४ चौका र ३ छक्कासहित सर्वााधिक ६१ रनको अर्धशतकीय ईनिङ खेलेपनि जितको लागि पर्याप्त हुन सकेन ।
युवा ब्याटर तिलक बर्मा १८ बलमा ३ चौका र २ छक्कासहित २७ रनमा आउट भएका थिए । तेस्रो विकेटका लागि तिलक बर्मा र सूर्यकुमार यादवले ३० बलमा ४९ रनको साझेदारी गरेका थिए । अन्तिम निर्णायक खेलमा अन्य कुनैपनि भारतीय ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।
स्पिनर अकिल हुसैनले पहिलो ओभरको पाँचौं बलमा ओपनर यशस्वी जैसवाललाई ५ रनमा बोल्ड आउट गरेका थिए । यसैगरी शुभमन गिल ९ रनमा, सञ्जु स्यामसन १३ रनमा, हार्दिक पान्ड्या १४ रनमा, अर्शदीप सिंह ८ रनमा, अक्षर पटेल १३ रनमा र कुलदीप यादव शून्यमा आउट भएका थिए ।
वेस्टइन्डिजका लागि तीव्र गतिका बलर रोमारियो शेफर्डले ४ ओभरमा ३१ रन खर्चेर सर्वााधिक ४ विकेट लिएका थिए । स्पिनर अकिल हुसैनले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । जेसन होल्डरले ४ ओभरमा ३६ रन खर्चेर २ विकेट लिए । चेशले ४ ओभरमा २५ रन खर्चेर १ विकेट लिएका थिए ।
पाँच खेलको सिरिजमा वेस्टइन्डिज पहिलो खेलमा चार रनले र दोस्रो खेलमा दुई विकेटले विजयी भएको थियो । भारत तेस्रो खेलमा ७ विकेटले र चौथो खेलमा ९ विकेटले विजयी भएको थियो । वेस्टइन्डिजका विकेटकिपर निकोलस पुरन सिरिजको सर्वोत्कृष्ट खेलाडी चुनिए । पुरनले ५ खेलमा १ सय ७६ रन बनाएका थिए ।