काठमाडौं । नेपालसँगै एकै समूहमा रहेको उपाधि दाबेदार पाकिस्तानले अर्को महिना हुने एकदिवसीय एसिया कप-२०२३ खेल्ने टोली घोषणा गरेको छ । पाकिस्तान र श्रीलंकामा ३० अगष्ट देखी १७ सेप्टेम्बर सम्म हुने एसिया कपमा पाकिस्तानले बाबर आजमको कप्तानीमा १८ सदस्यीय टोली घोषणा गरेको हो ।
पाकिस्तान क्रिकेट बोर्ड पीसीबीका मुख्य चयनकर्ता इन्जमाम उल हकले बुधबार पत्रकार सम्मेलनमा एसिया कप-२०२३ र अफगानिस्तानविरुद्धको तीन एकदिवसीय सिरिजका लागि टोली घोषणा गर्दै जानकारी दिएका हुन् ।
पाकिस्तानले एसिया कप अघि अफगानिस्तानसँग अगष्ट २२, २४ र २६ तारिखमा तीन ओडिआई खेलको सिरिज खेल्नेछ । पाकिस्तानले एसिसी इमर्जिङ एसिया कपको फाइनलमा भारतविरुद्ध सानदार शतक हानेका अलराउन्डर तयाब ताहिरलाई टोलीमा मौका दिएको छ । पहिलो पटक एकदिवसीय टोलीमा परेका उनी लेग स्पिनर पनि हुन् ।
त्यस्तै, अलराउन्डर फहिम अशर्फलाई पनि टोलीमा मौका दिएको छ । २ वर्षपछि टोलीमा फर्किएका अशरफले फास्ट बलिङसँगै ब्याटिङलाई पनि बलियो बनाउनेछन् । उनले अन्तिम पटक जुलाई २०२१ मा एकदिवसीय खेलेका थिए । अशरफले ३१ एकदिवसीय खेलमा २३ विकेट र २१८ रन बनाएका छन् ।
एसिया कपको समूह ए मा पाकिस्तान, भारत र नेपाल छन् । समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् । आयोजक पाकिस्तानले मुल्तानमा अगस्ट ३० तारिखमा नेपालसँग खेल्दै एसिया कपको सुरुआत गर्नेछ भने भारतले सेप्टेम्बर २ तारिखमा श्रीलंकाको कान्डीमा पाकिस्तानविरुद्ध खेल्दै आफ्नो अभियानको सुरुवात गर्नेछ ।
हाइब्रिड मोडलमा आयोजना हुने ६ टोलीको सहभागिता रहेको प्रतियोगिताको पहिलो चार खेल पाकिस्तानमा हुनेछ भने फाइनलसहित बाँकी ९ खेल श्रीलंकामा खेलाइनेछ । टोलीलाई २ समूहमा विभाजन गरिएको छ । दुवै समूहका शीर्ष २/२ टोली सुपर फोरमा प्रवेश गर्नेछन् ।
पाकिस्तानको टोली :
बाबर आजम (कप्तान), अब्दुल्लाह शफिक, फखर जमान, इमाम उल हक, सलमान अली आगा, इफ्तिखार अहमद, तैयब ताहिर, साउद शकील, मोहम्मद रिजवान, मोहम्मद हारिस, शादाब खान (उपकप्तान), मोहम्मद नवाज, उस्मा मीर, फहीम अशरफ, हारिस राउफ, मोहम्मद वासिम जुनियर, नसीम शाह र शाहीन शाह अफ्रिदी ।