काठमाडौं । नेपाली क्रिकेट टोेलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आबद्ध मोन्टरिएल टाइगर्सले ग्लोबल टि-२० क्यानडा २०२३ को उपाधि जितेको छ । आइतबार राति सम्पन्न फाइनलमा नेपालका स्पिनर सन्दीप लामिछाने सम्मिलित सर्रे जागुअर्सलाई ५ विकेटले हराउँदै टाइगर्स च्याम्पियन बनेको हो ।
सर्रे जागुअर्सले जितको लागि दिएको १ सय ३१ रनको विजयी लक्ष्य पछ्याएको टाइगर्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । टाइगर्सलाई अन्तिम ६ बलमा जितको लागि १३ रन चाहिँएको थियो । आन्द्रे रसेलले अन्तिम बलमा दुई रन चाहिँदा छक्का हान्दै टाइगर्सलाई जिताएका थिए ।
त्यसअघि, दोस्रो बलमा रसेलले छक्का हान्दै टाइगर्सको जितको सम्भाबना बलियो बनाएका थिए । टाइगर्सका शेर्फान रदरफोर्ड २९ बलमा ३ चौका र २ छक्कासहित ३८ रनमा अविजित रहँदा आन्द्रे रसेल ६ बलमा १ चौका र २ छक्कासहित २० रनमा नटआउट रहेका थिए ।
नेपाली अलराउन्डर दीपेन्द्रसिंह ऐरीले १७ बलमा १ चौकासहित १६ रनमा रिटायर्ट हर्टआउट हुँदै आन्द्रे रसेललाई मौका दिएका थिए । त्यसअघि, क्रिस लिन ३५ बलमा ३१ रनमा, दीलप्रित सिंह १४ रनमा र श्रीमन्था वाजिरत्ने १२ रनमा आउट भएका थिए ।
टाइगर्सका मोहम्मद वसिम सुन्य रनमै आउट भएका थिए । सर्रेका लागि इफ्तिखर अहमदले ४ ओभरमा ८ रन खर्चेर २ विकेट लिएका थिए । आयन खान र जोनसनले समान १/१ विकेट लिएका थिए । नेपालका स्पिनर सन्दीप लामिछानेले ३ ओभरमा २० रन खर्चिदा विकेट लिन सकेनन् ।
त्यसअघि, टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सर्रे जागुअर्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ३० रन बनाएको थियो । सर्रेका ओपनर जतिन्दर सिंह ५७ बलमा ३ चौकासहित सर्वाधिक ५६ रनको अर्धशतकीय ईनिङमा नटआउट रहेपनि त्यो उपाधि जित्न पर्याप्त थिएन ।
यसैगरी आयान खानले २६ रन बनाउँदा मोहम्मद हारिसले २३ रन जोडेका थिए । टाइगर्सका लागि आयान अफजल खानले २ विकेट लिए भने कार्लोस ब्रेथह्वाइट, अब्बास अफ्रिदी र आन्द्रे रसेलले समान १/१ विकेट लिएका थिए । टाइगर्सका शेर्फान रदरफोर्ड खेलको प्लेयर अफ द म्याच र सिरिज दुबै चुनिएका थिए ।