काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीसम्मिलित मोन्टरिएल टाइगर्सले ग्लोबल टि-२० क्यानडाको फाइनलमा स्थान बनाएको छ । दोस्रो क्वालिफायर खेलमा शनिबार राती भ्यानकुभेर नाइट्समाथि एक विकेटको रोमान्चक जित हात पार्दै टाइगर्सले फाइनलमा स्थान बनाएको हो ।
भ्यानकुभेर नाइट्सले जितको लागि दिएको १ सय ३८ रनको विजयी लक्ष्य पछ्याएको मोन्टरिएल टाइगर्सले १९.३ ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो । टाइगर्सलाई अन्तिम ओभरमा जितको लागि १५ रन चाहिँदा शेर्फान रदरफोर्डले रायन पठानलाई लगातार तीन छक्का हान्दै जित दिलाएका थिए ।
शेर्फान रदरफोर्ड ३४ बलमा २ चौका र ३ छक्कासहित ४८ रनमा अविजित रहे । दीपेन्द्रसिंह ऐरी २८ बलमा २ चौकासहित २५ रनमा आउट भएका थिए । एक समय ४.५ ओभरमा २९–४ को दयनीय अवस्थामा पुगेको टाइगर्सलाई दीपेन्द्रले रदरफोर्डसँग ४३ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।
यसैगरी आयन खानले १४ बलमा १ चौका र १ छक्कासहित १८ रनमा, आन्द्रे रसेल १७ रनमा र मोहम्मद वासिम १३ रनमा आउट भएका थिए । भ्यानकुभेर नाइट्सका लागि जुनैद सिद्दिकले ४ ओभरमा २२ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । फबिएन एलेन र कब्रिन बोसले समान २/२ विकेट लिएका थिए ।
त्यसअघि, टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भ्यानकुभेर नाइट्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३७ रन बनाएको थियो । नाइट्सका लागि ओपनर मोहम्मद रिजवानले ३३ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक ३९ रन बनाएका थिए ।
यसैगरी कब्रिन बोसले २८ बलमा १ चौका र ३ छक्कासहित ३६ रन बनाए भने हर्ष ठाकेरले २१ बलमा ३ चौका र १ छक्कासहित अविजित २६ रन बनाएका थिए । एक समय १२.३ ओभरमा ९०-१ को अवस्थाबाट नाइट्सले लगातार चार विकेट गुमाएपछि ठूलो योगफलको सम्भावना गुमाएको थियो ।
मोन्टरिएल टाइगर्सका लागि अब्बास अफिदीले ४ ओभरमा ह्याट्रिकसहित २९ रन खर्चेर ५ विकेट लिएका थिए । दीपेन्द्रको टोली टाइगर्सले लिगमा तेस्रो स्थानमा रहँदै एलिमिनेटर खेलमा ब्राम्पटन वल्भसलाई ९ विकेटले हराउँदै दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो ।
स्पिनर सन्दीप र अलराउन्डर दीपेन्द्रको टोली उपाधिका लागि भिड्ने
अब नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीआबद्ध टाइगर्सले उपाधिको लागि आज आइतबार राती ९:४५ मा स्पिनर सन्दीप लामिछाने सम्मिलित सर्रेसँग खेल्नेछ । सन्दीप सम्मिलित सर्रेले पहिलो क्वालिफायर खेलमा भ्यानकुभेर नाइट्सलाई ३८ रनले हराउँदै फाइनलमा पुगेको थियो ।
आज राती एक नेपाली खेलाडी आबद्ध टोली च्याम्पियन बन्ने पक्का छ । दुबै नेपाली खेलाडीले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका छन् । अलराउन्डर दीपेन्द्रसिंह ऐरीले ७ खेलमा १ सय २७ रन बनाउँदा २ विकेट लिएका छन् । स्पिनर सन्दीप लामिछानेले ७ खेलमा ११ विकेट लिएका छन् ।