काठमाडौं । नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने आबद्ध सर्रे जगुआर्सले चौथो जित निकाल्दै ग्लोबल टी-२० क्यानडाको क्वालिफायरमा स्थान बनाएको छ । बुधबार राति भएको खेलमा सर्रेले मिसीसौगा प्यान्थर्सलाई ८ विकेटले पराजित गर्दै क्वालिफायरमा स्थान बनाउन सफल भएको हो ।
सर्रेको जितमा आफ्नो २३ औं जन्मदिन मनाईरहेका स्पिनर सन्दीपले ४ ओभरमा मात्रै ६ रन खर्चेर ३ विकेट लिएका थिए । उत्कृष्ट प्रदर्शन गरेका सन्दीप नै खेलको ‘प्लेयर अफ द म्याच’ चुनिएका थिए । सन्दीपले अवार्ड वापत १ लाख ३२ हजार नेपाली रुपैयाँ जिते ।
यस सिजनमा सर्रेका लागि सन्दीपले १० विकेट लिई सकेका छन् । जारी सिजनमा सन्दीपले चौथो पटक अवार्ड जितेका हुन् । सन्दीपले यस अघि तीन खेलमा ५ सय डलर पुरस्कार राशी भएको ‘मोमेन्ट अफ द म्याच’ अवार्ड जितेका थिए ।
मिसीसौगा प्यान्थर्सले जितको लागि दिएको ५७ रनको झिनो विजयी लक्ष्य पछ्याएको सर्रेले ९ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । सर्रेको जितमा मोहम्मद हरिस २३ बलमा ६ चौका र १ छक्कासहित ३७ रनमा अविजित रहे ।
त्यस्तै, लिटन दासले १० रन तथा कप्तान इफ्तिखर अह्मेदले अविजित ८ रनको इनिङ खेलेका थिए । मिसीसौगा प्यान्थर्सका लागि सेसिल परवेज र उस्मान कादिरले समान १/१ विकेट लिएका थिए ।
त्यसअघि, टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मिसीसौगा पान्थर्स १४ दशमलब ३ ओभरमा ५६ रनमा अल आउट भएको थियो । उसका लागि श्रेयस मोभाले सर्वाधिक १७ रन बनाउँदा निकहिल दतको १० रन दोहोरो स्कोरका रूपमा रह्यो ।
सर्रेका लागि नेपाली स्पिनर सन्दीप लामिछानेले ४ ओभर बलिङ गर्दा ६ रन खर्चिएर सर्वाधिक ३ विकेट लिएका थिए । सन्दीपले आजम खान, टम कपर र जोहार खानको विकेट हात पारे । यसैगरी सर्रेका इफितकर अहमद र म्याथ्यु फोर्डले समान २/२ विकेट लिएका थिए ।
जितसँगै ७ खेलमा ४ जित, १ हार र २ खेलमा अंक बाँड्दै १० अंकका साथ शीर्षस्थानमा रहेको सर्रेले अब पहिलो एलिमिनेटर राउन्डमा भानकुभर नाइटसँग खेल्ने छ भने दोस्रो एलिमिनेटरमा अर्का नेपाली अलराउन्डर दीपेन्द्रसिंह ऐरी आवद्ध मोन्टरियल टाइगर्सले ब्राम्पटन वुल्भ्ससँग खेल्ने छ ।