काठमाडौं । नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने आबद्ध सर्रे जगुआर्सले ग्लोबल टी-२० क्यानडाको प्लेअफमा स्थान बनाएको छ । मंगलबार राती भएको खेलमा ब्रैम्प्टन वुल्भ्सलाई ६ विकेटले पराजित गर्दै सर्रे जगुआर्सले एक खेल अगावै प्लेअफमा स्थान बनाएको हो ।
यस खेलमा नेपालका स्पिनर सन्दीप लामिछानेले ३ ओभरमा २५ रन खर्चिदा विकेट लिन सकेनन् । यस सिजनमा वर्षाले प्रभावित नभएको खेलमा सन्दीप पहिलो पटक विकेट विहीन बनेका हुन् । तर, यस सिजनमा सन्दीपले ७ विकेट लिई सकेका छन् ।
ब्रैम्प्टन वुल्भ्सले जितको लागि दिएको १ सय २९ रनको लक्ष्य सर्रे जगुआर्सले १८ दशमलब ४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । सर्रे जगुआर्सको जितमा लिन्टन दासले ४५ बलमा ५९ रनको अर्धशतकीय ईनिङ खेलेका थिए । दास नै खेलको ‘प्लेयर अफ द म्याच’ चुनिए ।
कप्तान ईफ्तिखार अहमदले ४१ बलमा अविजित ३८ रन बनाएका थिए । ब्रैम्प्टन वुल्भ्सका लागि टिम साउथी, लोगन भान विक, क्रिस ग्रिन र साहिद अहमदजाइले समान १/१ विकेट लिएका थिए ।
त्यसअघि, टस हारेर पहिला ब्याटिङको निम्तो पाएको ब्रैम्प्टन वुल्भ्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २८ रन बनाएको थियो । ब्रैम्प्टनका लागि कोलिन डि ग्रान्डहोमले ३४ बलमा ३ चौकासहित सर्वाधिक ३४ रन बनाएका थिए ।
त्यस्तै, आरोन जोनसन, मार्क च्यापम्यान र नितेश कुमारले समान १४/१४ रन बनाउँदा उस्मान खानले १३ रन बनाएका थिए । सर्रे जगुआर्सका लागि अमर खलिद, म्याथ्यु फोड र आयान खानले समान २/२ विकेट लिएका थिए ।
उता, अर्को नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आबद्ध मोन्टरिएल टाइगर्स बुधबार बिहान समूह चरणको अन्तिम खेलमा भैंकूवर नाइट्ससँग ९ विकेटले पराजित भएको छ ।
मोन्टरिएल टाइगर्सले जितको लागि दिएको १ सय रनको सामान्य विजयी लक्ष्य भैंकूवर नाइट्सले १४.५ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । भैंकूवर नाइट्सको जितमा मोहम्मद रिजवान ५४ बलमा १० चौका र १ छक्कासहित ६८ रनको अर्धशतकीय ईनिङ खेलेका थिए ।
कोब्रिन बोस २९ बलमा ३ चौकासहित २८ रनमा अविजित रहेका थिए । मोन्टरिएल टाइगर्सका लागि आन्द्रे रसेलले १ विकेट लिएका थिए । अलराउन्डर दीपेन्द्रसिंह ऐरीले बलिङ गर्ने अवसर भने पाएनन् ।
त्यसअघि, टस जितेर पहिला ब्याटिङ गरेको टाइगर्स १८ दशमलब ३ ओभरमा ९९ रनमा अलआउट भएको थियो । मोन्टरिएल टाइगर्सका लागि ओपनर मोहम्मद वासिमले २४ बलमा सर्वाधिक २८ रन बनाए । दीपेन्द्रसिंह ऐरीले २७ बलमा ३ चौकासहित २४ रन बनाएका थिए ।
भैंकूवर नाइट्सका लागि जुनैद सिद्दिकले ४ ओभरमा २७ खर्चेर सर्वाधिक ३ विकेट लिएका थिए । कोब्रिन बोसले ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिए । रुबेन ट्रम्पलम्यानले ४ ओभरमा १ मेडनसहित ८ रन खर्चेर ३ विकेट लिएका थिए ।
नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आबद्ध मोन्टरिएल टाइगर्स ७ खेलमा ९ अंकका साथ शीर्ष स्थानमा रहको छ । स्पिनर सन्दीप लामिछाने आबद्ध सर्रे जगुआर्स ६ खेलमा ८ अंकका साथ दोस्रो स्थानमा रहको छ । ६ टोलीको सहभागीता रहेको ग्लोवल टी-२० क्यानडाको फाइनल खेल अगस्ट ६ तारिखमा हुनेछ ।