काठमाडौं । नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने आबद्ध सर्रे जगुवार्सले ग्लोवल टी-२० क्यानडामा दोस्रो जित निकालेको छ । क्यानडामा शुक्रबार राति सम्पन्न खेलमा सर्रे जगुवार्सले मिसिसौगा प्यान्थर्सलाई ५५ रनले पराजित गरेको हो ।
चौथो खेलमा दोस्रो जित हात पारेको सर्रे जगुवार्स ५ अंक बनाउँदै तेस्रो स्थानमा उक्लिएको छ । सर्रे जगुवार्सको जितमा नेपाली स्पिनर सन्दीप लामिछानेले महत्वपुर्ण तीन विकेट लिएका थिए । पाँचौ खेलमा समेत जितबिहिन मिसिसौगा प्यानथर्स अंक बिहिन रहँदै पुछारमा रहेको छ ।
लामिछाने आबद्ध सर्रे जगुवार्सले जितको लागि दिएको १ सय ६५ रनको विजयी लक्ष्य पछ्याएको मिसिसौगा प्यान्थर्स १७ ओभरमा १ सय ९ रनमा अल आउट भयो । प्यान्थर्सका लागि क्यामरन डेलपोर्टले २१ बलमा ४ छक्कासहित सर्वाधिक ३३ रन बनाएका थिए ।
त्यस्तै, श्रेयस मोवा ३१ बलमा ५ चौकासहित ३१ रनमा, आयन खान १४ रनमा, क्रिस गेल ३ रनमा र जेम्श निसम शून्यमा आउट भएका थिए । नेपाली स्पिनर सन्दीपले क्यामरन डेलपोर्ट, जसकरण सिंह र जेम्श निसमको विकेट लिएका थिए ।
सर्रे जगुवार्सका लागि स्पिनर सन्दीप लामिछानेले ३ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए । स्पेन्सर जोनसनले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिएका थिए । त्यस्तै, म्याथ्यु फोर्डले २ विकेट, आयन खान र अमर खलिदले समान १/१ विकेट लिएका थिए ।
त्यसअघि, टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सर्रे जगुवार्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो । सर्रेका लागि जतिन्दर सिंहले ४५ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ५७ रनको अर्धशतकीय ईनिङ खेलेका थिए ।
एलेक्स हेल्स २१ बलमा ९ चौकासहित ३९ रनमा आउट भए । लिटन दासले ३० बलमा १ चौका र १ छक्कासहित २५ रन बनाएका थिए । मिसिसौगा प्यान्थर्सका लागि जहुर खानले ४ ओभरमा ३६ रन खर्चेर सर्वाधिक ३ विकेट लिएका थिए ।
उता, नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आबद्ध मोन्टरिएल टाइगर्सले टोरान्टो नेशनलसँग आज शनिबार साँझ प्रतिस्पर्धा गर्नेछ । त्यस्तै, सन्दीपको टोली सर्रेले आज राती भ्यानकुभर नाइट्ससँग प्रतिस्पर्धा गर्नेछ ।
स्पिनर सन्दीपले ४ खेलमा ७ विकेट लिई सकेका छन् । अलराउन्डर दीपेन्द्रले तीन खेलमा ७८ रन बनाउनुको साथै १ विकेट लिएका छन् । प्रतियोगितामा ६ टोलीको सहभागीता रहेको छ । ग्लोवल टी-२० क्यानडाको फाइनल खेल अगस्ट ६ तारिखमा हुनेछ ।