काठमाडौं । नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आबद्ध मोन्टरिएल टाइगर्सले ग्लोबल टी-२० क्यानडामा लगातार तेस्रो जित निकालेको छ । क्यानडामा बुधबार बिहान सम्पन्न खेलमा मोन्टरिएल टाइगर्सले भ्यानकुभर नाइट्सलाई ६ विकेटले पराजित गरेको हो ।
जितसँगै आफ्नो विजयी यात्रालाई तेस्रो खेलसम्म पनि कायम राखेको टाइगर्स ६ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ । पराजित नाइट्स समान खेलबाट दुई अंकका साथ पाँचौं स्थानमा छ । टाइगर्सलाई जिताउन दीपेन्द्रसिंह ऐरीले बलिङ, ब्याटिङ र फिल्डिङ तीनै क्षेत्रमा राम्रो प्रदर्शन गरेका थिए ।
भ्यानकुभर नाइट्सले जितको लागि दिएको १ सय ५० रनको विजयी लक्ष्य मोन्टरिएल टाइगर्सले १८.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । टाइगर्सको जितमा शेफार्न रदरफोर्डले ५३ बलमा ७ चौका र ६ छक्कासहित अविजित ८४ रनको अर्धशतकीय ईनिङ खेलेका थिए ।
नेपाली अलराउन्डर दीपेन्द्रसिंह ऐरीले २२ बलमा दुई चौकासहित अविजित २२ रनबनाएका थिए । एक समय ६७–४ को अवस्थामा पुगेको टाइगर्सलाई दीपेन्द्रले पाँचौं विकेटका लागि रदरफर्डसँग ८६ रनको अविजित साझेदारी गर्दै जित दिलाएका थिए ।
यसैगरी दीलप्रित सिंह २१ रनमा, सकिबअल हसन १२ रनमा, ओपनर मोहम्मद वासिम १ रनमा र कप्तान क्रिस लिन शून्यमा आउट भएका थिए । भ्यानकुभर नाइट्सका लागि स्पिनर फिन एलेनले २ ओभरमा १८ रन खर्चेर २ विकेट र रुबेन ट्रम्पलम्यानले १ विकेट लिएका थिए ।
त्यसअघि, टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भ्यानकुभर नाइट्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ४९ रन बनाएको थियो । नाइट्सका लागि ओपनर फखार जमानले ५३ बलमा ७ चौका र ३ छक्कासहित सर्वाधिक ७३ रन बनाएपनि टोलीको हार टार्न सकेनन् ।
यसैगरी कप्तान रस्सी भान डेर डुुसेनले २६ रन र कोर्बिन बोचले अविजित १२ रन जोडेका थिए । दीपेन्द्रसिंह ऐरीले १० औं ओभरको दोस्रो बलमा हर्ष थाकेरलाई ९ रनमा रन आउट गरेका थिए । दीपेन्द्रले ३ ओभरमा १६ रन खर्चेर १ विकेट र कार्लोस ब्रेथवेटले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिएका थिए ।
मोन्टरिएल टाइगर्सले आज (बुधबार) राती १:१५ मा ब्रम्पटन वोल्भससँग खेल्नेछ । त्यस्तै, नेपाली क्रिकेट टोलीका स्पिनर सन्दिप लामिछाने आवद्ध सर्रे जगुवार्सले ग्लोबल टी-२० क्यानडामा पहिलो जित निकालेको छ । सन्दीपले २ विकेट लिएको खेलमा सर्रेले टोरन्टो नेशनललाई २० रनले पराजित गरेको हो ।