काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नेपाल–पाकिस्तान सिधा हवाई सेवा सञ्चालनका लागि नवनियुक्त राजदूत अब्रर हुसैन हास्मीसमक्ष आग्रह गरेको छ । दुई मुलुकबीचको व्यापार सहजीकरण एवं पर्यटकीय गतिविधि वृद्धि गर्नका लागि सिधा हवाई सम्पर्क आवश्यक रहेकोमा जोड दिदैँ चेम्बरले राजदूत हास्मीसमक्ष यस्तो आग्रह गरेको हो ।
नेपालका लागि नवनियुक्त पाकिस्तानी राजदूत हास्मीलाई काठमाडौंको जमलस्थित चेम्बर भवनमा आज स्वागत गर्ने क्रममा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले दुई मुलुकबीचको व्यापार वृद्धि, पर्यटन आदान प्रदान एवं अन्य आर्थिक, व्यापारिक गतिविधि विस्तारका लागि तत्काल हवाई सेवा सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिएका छन् ।
हवाई सेवा सञ्चालन गर्न दुई मुलुकबीच सरकारी तबरबाटै पहल गर्न र नीजि क्षेत्रमा पनि सहकार्य गराउन अध्यक्ष मल्लले राजदूत हास्मीसंग आग्रह गरे । उनले भने, ‘नेपाल र पाकिस्तानबीच हवाई दूरी जम्मा तीन घण्टाको छ । यसलाई सदुपयोग गर्न सकियो भने दुई मुलुकबीचको व्यापार वृद्धि र पर्यटन विस्तार गर्न सकिन्छ । सार्क सदस्य राष्ट्रको हैसियतले अन्य थुप्रै आर्थिक गतिविधि बढाएर दुबै मुलुकले लाभ प्राप्त गर्न सक्छन् ।’
नेपाल चेम्बर अफ कमर्स र पाकिस्तान चेम्बर अफ कमर्सबीच थुप्रै क्षेत्रमा व्यापारिक सहकार्यको सम्भावना रहेकाले उच्चस्तरीय भेटवार्ताका लागि आफूहरु तयार रहेको अध्यक्ष मल्लले बताए । निजी क्षेत्रबीचको सहकार्यमार्फत हवाई सेवा सञ्चालन, साना तथा मझौला उद्योगमा संयुक्त लगानी बढाएर दुबै देशले लाभ लिन सक्ने प्रचुर सम्भावना रहेको उनले बताए ।
पाकिस्ताबाट नेपालले अहिले औषधी, प्रशोधित छालाजन्य पदार्थ, मेसिनरी बस्तु, जुत्ता, चप्पल लगायतका वस्तु आयत गर्दै आएको छ भने मह, कफी, चिया, हस्तकलाका सामान, अलैंची, आँखाको लेन्स, ऊनी धागो लगायतका बस्तु निर्यात गर्ने गरेको छ ।
काठमाडौं कराँचीबीच सिधा हवाई सेवा सञ्चालन गर्न सकिए व्यापार सहजीकरण हुने र व्यापार घाटा पनि कम गर्न सकिने अध्यक्ष मल्लले बताए । साथै, पर्यटन गतिविधि बढाउन पनि सहज हुने अध्यक्ष मल्लको विश्वास छ ।
नेपालका लागि पाकिस्तानी राजदूत हास्मीले पनि हवाई सेवा सञ्चालनका लागि सरकारी तवरबाटै पहल हुनुपर्ने बताए । नेपाल र पाकिस्तानबीच दुबै मुलुकलाई फाइदा हुनेगरि आर्थिक सम्भावनाका क्षेत्रहरुको पहिचान गर्नुपर्नेमा हास्मीले जोड दिए । यसका लागि प्राथमिकताका क्षेत्रहरु पहिचान हुनुपर्ने उनको भनाई छ । साथै, दुई देशबीचका चेम्बर अफ कमर्सका पदाधिकारीबीच छलफल गराएर व्यापारिक गतिविधि विस्तारका लागि आफूले पहल गर्ने राजदूत हास्मीले प्रतिवद्धता जनाएका छन् ।
पछिल्लो समय पाकिस्ताबाट वार्षिक औषत ४ हजार हाराहारीमा पर्यटक नेपाल घुम्न आउने गरेका छन् । र, अध्यक्ष मल्लले दुई मुलुकबीचको सीधा हवाई सेवा विस्तार हुने हो भने हालको व्यापार र पर्यटकीय गतिविधिलाई १० गुणासम्मले वृद्धि गर्न सकिने बताएका छन् ।