काठमाडौं । कुशल भुर्तेलको उत्कृष्ट अलराउन्डर प्रदर्शनमा नेपालले यूएईको ‘ए’ टोलीलाई हराउँदै एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कपमा सुखद अन्त्य गरेको छ । कोलोम्बोको पि सारा ओभल क्रिकेट मैदानमा बुधबार नेपालले युएई ‘ए’ टोलीलाई ३ विकेटले पराजित गर्दै सान्त्वना जित दर्ता गरेको हो ।
समूह ‘बी’ मा रहेको नेपाल ३ खेलमा २ मा हार र १ मा जितसहित तेस्रो हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । समूह चरणको आफ्नो अन्तिम खेलमा ओपनर कुशल भुर्तेल चम्किएपछि यूएईले प्रस्तुत गरेको १ सय ५८ रनको विजयी लक्ष्य नेपालले २३ ओभरमा सात विकेट गुमाएर पूरा गर्यो ।
नेपालको जितमा ओपनर कुशल भुर्तेलले ४३ बलमा ९ चौका र ४ छक्कासहित सर्वाधिक ७१ रनको सानदार अर्धशतकीय इनिङ्स खेलेका थिए । कुशल भुर्तेलले बलिङमा पनि ६ विकेट लिएका थिए । खेलमा अलराउन्ड उत्कृष्ट प्रदर्शन गरेका कुशल भुर्तेल नै खेलको ‘प्लेयर अफ द म्याच’ चुनिएका थिए ।
नेपालले ओपनर अर्जुन साउदलाई इनिङकै पहिलो बलमा गुमाएको थियो । दोस्रो विकेटका लागि कुशल भुर्तेल र देव खनालले १२.५ ओभरमा ९८ रनको साझेदारी गर्दै जितको आधार तय गरेका थिए । देव खनाल ३८ बलमा ४ चौकासहित २४ रनमा फजुरुद्दिनको बलमा एलबीडब्लू आउट भएका थिए ।
सन्दीप जोरा १५ बलमा १ चौका र २ छक्कासहित २४ रन बनाउँदै क्याच आउट हुन पुगेका थिए । कप्तान रोहितकुमार पौडेल मोहम्मद जवादुल्लाहको सर्ट बलमा ठूलो सट खेल्ने धुनमा मिडअफमा ९ रनमा अर्यांश शर्माबाट समातिन पुगे । गुलशन झा ११ रनमा स्टम्पिङ आउट भएका थिए ।
लगातार खराब प्रदर्शन गर्दै आएका पवन सरार्फ डक आउट भए । कुशल मल्ल दुई रनमा अविजित रहे भने प्रतिश जि.सीले लगातार दुई चौका हान्दै खेल सकाएका थिए । युएई ‘ए’ टोलीका लागि मोहम्मद फजुरुद्दिनले सर्वाधिक ५ विकेट तथा मोहम्मद जगदुल्लाहले २ विकेट लिए ।
त्यसअघि, कुशल भुर्तेलले करियरकै उत्कृष्ट बलिङ गर्दै ६ विकेट लिएपछि टस जितेर ब्याटिङमा आएको युएई ‘ए’ टोली ४४ ओभरमा १ सय ५७ रन बनाउँदै अलआउट भएको थियो । युएईका लागि ओपनर लवप्रीत सिंहले ८२ बलमा ६ चौका र १ छक्कासहित ५२ रनको अर्धशतकीय ईनिङ खेलेका थिए ।
इथान डिसुजाले १८ रन, अश्वन्थ भाल्थापाले १६ रन, अर्यांश शर्माले १४ रन र जस गियानानीले १३ रन जोडेका थिए । यसबाहेक, युएईका अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । युएईका कुनैपनि ब्याटरले नेपालको स्पिन आक्रामण सामु क्रिजमा धैर्यता देखाउन सकेनन् ।
यूएईलाई मध्यम योगफलमा रोक्न स्पिनर कुशल भुर्तेलले १० ओभरमा ४० रन खर्चेर सर्वाधिक ६ विकेट लिएका थिए । । अर्का स्पिनर मौसम ढकालले ९ ओभरमा ४४ रन खर्चेर २ विकेट लिए । पवन सरार्फ र कुशल मल्लले समान १/१ विकेट लिएका थिए ।
समूह ‘बी’ बाट भारत ‘ए’ टोली र पाकिस्तान ‘ए’ टोलीले अन्तिम खेल अगावै सेमिफाइनलमा स्थान पक्का गरिसकेका छन् । तालिकाको पुछारमा सीमित यूएई ‘ए’ टोली भने प्रतियोगितामा जितविहीन रह्यो । युएई भारतसँग ८ विकेटले र पाकिस्तानसँग १ सय ८४ रनले पराजित भएको थियो ।
नेपाल पहिलो खेलमा पाकिस्तान ‘ए’ टोलीसँग ६ विकेटले र दोस्रो खेलमा भारत ‘ए’ टोलीसँग ९ विकेटले पराजित हुँदै बाहिरिएको थियो । नेपालले अव दुई महिनापछि चीनको होङझावमा हुने १९ औं एसियाली खेलकुदको लागि तयारी गर्नेछ ।
एसियाका आठ टिम सहभागी प्रतियोगितामा दुबै समूह चरणको खेलपछि अंक तालिकाको पहिलो र दोस्रो स्थानमा रहने टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । दुबै सेमिफाइनल खेल जुलाई २१ तारिखमा र फाइनल खेल २३ तारिखमा हुनेछ ।