काठमाडौं । नेपालले एसीसी इमर्जिङ टिम्स एसिया कपमा आज बुधबार आफ्नो अन्तिम खेल युएईको ‘ए’ टोली विरुद्ध खेल्दैछ । कोलोम्बोको पिसारा ओभल क्रिकेट मैदानमा नेपाल र युएईबीचको खेल नेपाली समय अनुसार बिहान १०:१५ बजेबाट सुरु हुनेछ ।
समूह ‘बी’ मा रहेका नेपाल र युएईको ‘ए’ टोली दुवै समूह चरणबाट बाहिरी सकेका छन् । यद्यपि, आज प्रतिस्ठाका लागि दुवै टोली एक अर्कासँग आमने सामने हुनेछन् । श्रीलंकामा जारी प्रतियोगितामा नेपाल र युएई यो अन्तिम खेल हो ।
नेपाल आफ्नो पहिलो खेलमा पाकिस्तानको ‘ए’ टोलीसँग ४ विकेटले तथा दोस्रो खेलमा भारतको ‘ए’ टोलीसँग ९ विकेटले पराजित हुनु परेको नमिठो पिडासहित मैदानमा उत्रन लागेको हो भने युएई पनि भारतसँग ८ विकेटले र पाकिस्तानसँग १ सय ८४ रनले पराजित भएर प्रतिस्पर्धामा उत्रन लागेको हो ।
युएईको ‘ए’ टोलीलाई जितको कुनै दबाब छैन । पछिल्लो समय युएईको सिनियर टोलीेले नेपालसँग लगातार हार्दै आएको छ । आज दबाब नेपाललाई हुनेछ । युएईको दोस्रो रोजाईको टोलीलाई हराउन बाहेक नेपाललाई अन्य कुनै विकल्प हुने छैन ।
एसियाका आठ टिम सहभागी प्रतियोगितामा दुबै समूह चरणको खेलपछि अंक तालिकाको पहिलो र दोस्रो स्थानमा रहने टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । दुबै सेमिफाइनल खेल जुलाई २१ तारिखमा र फाइनल खेल २३ तारिखमा हुनेछ ।
नेपाली टोली :
रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, कुशल मल्ल, देव खनाल, पवन सर्राफ, गुल्सन झा, सोमपाल कामी, भिम सार्की, श्याम ढकाल (मौसम), प्रतिश जिसी, ललितनारायण राजवंशी, किशोर महतो, सन्दीप जोरा, सूर्य तामाङ ।