काठमाडौं । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपमा भारतको ‘ए’ टोलीसँग पराजित हुदै प्रतियोगिताको समूह चरणबाटै बाहिरीएको छ । श्रीलंकाको आर प्रेमदासा रंगशालामा सोमबार भएको खेलमा नेपाललाई ९ विकेटले पराजित गर्दै भारतको ‘ए’ टोली एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरेको छ ।
नेपाल प्रतियोगितामा लगातार दोस्रो हारसँगै एक खेल खेल्न बाँकी रहँदै प्रतियोगिताबाट बाहिरिएको हो । आजै भएको अर्को खेलमा युएई ‘ए’ टोलीलाई १८४ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तानको ‘ए’ टोली पनि एक खेल अगावै सेमिफाइनल प्रवेश गरेको छ ।
नेपालले जितको लागि दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको भारतको ‘ए’ टोलीले २२ ओभर १ बलमा एक विकेट गुमाएर १ सय ७२ रन बनाउँदै खेल जितेको हो । भारत ‘ए’ टोलीको सहज जितमा ओपनर अभिषेक शर्मा र साई सुदर्शनले सानदार अर्धशतकीय इनिङ्स खेलेका थिए ।
अभिषेक शर्माले ६९ बलमा १२ चौका र २ छक्कासहित सर्वाधिक ८७ रनको योगदान दिए । कप्तान रोहितकुमार पौडेलको बलमा ठूलो सट खेल्ने धुनमा अभिषेक लङअनमा कुशल मल्लबाट क्याच आउट भएपछि शतक बनाउन चुकेका थिए ।
ओपनर अभिषेक शर्मा र साई सुदर्शनले पहिलो विकेटका लागि १९ ओभरमा १ सय ३९ रनको शतकीय साझेदारी गर्दै जितको आधार तय गरेका थिए । साई सुदर्शन ५२ बलमा ८ चौका र १ छक्कासहित ५८ रनमा र ध्रुब जुरेल १२ बलमा १ चौका र २ छक्कासहित २१ रनमा नट आउट रहेका थिए ।
त्यसअघि, टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ३७.२ ओभरमा १ सय ६७ रनमा अलआउट हुन पुगेको थियो । शुक्रबार पाकिस्तानको ‘ए’ टोली सँगको पहिलो खेलमा नेपालका शीर्ष ६ ब्याटरको सम्झन लायक प्रदर्शन थिएन । दोस्रो खेलमा भारतको ‘ए’ टोलीसँग पनि त्यहिँ प्रदर्शनले निरन्तरता पायो ।
नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ८५ बलमा ७ चौकासहित सर्वाधिक ६५ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए । गुलशन झा ३० बलमा २ चौका र २ छक्कासहित ३८ रनमा क्याच आउट भएका थिए ।
एक समय ९०–६ को दयनीय अवस्थामा पुगेको नेपाललाई सातौं विकेटका लागि कप्तान रोहितकुमार पौडेल र गुलशन झाले ५६ बलमा ५४ रनको साझेदारी गर्दै सम्मानजक योगफलमा पुर्याएका थिए । कमजोर ब्याटिङ गरेको नेपालका लागि अन्य कुनैपनि ब्याटरले सम्झन लायक इनिङ खेल्न सकेनन् ।
ओपनर कुशल भुर्तेललाई तीव्र गतिका बलर हर्षित रानाले इनिङको दोस्रो बलमै एलबीडल्लू आउट गर्दै शून्यमा पेभेर्लिएन फर्काएका थिए । आसिफ शेख युवा स्टार तीव्र गतिका बलर राजवर्धन हंगेगाकरको बलमा एज लागेर विकेटकिपर ध्रुब जुरेलबाट ७ रनमा समातिन पुगेका थिए ।
देव खनाल २१ बलमा ३ चौकासहित १५ रनमा टप एज लागेर अभिषेक शर्माबाट क्याच आउट भएका थिए । दोस्रो विकेटका लागि आसिफ शेख र देव खनालले २७ रनको साझेदारी गरेका थिए । खराब प्रदर्शनका कारण आलोचनामा पर्दै आएका पवन सरार्फ ६ रनमा आउट भए ।
भीम सार्की हर्षित रानाको नवौं ओभरको पाँचौं बलमा एज लागेर ४ रनमा बोल्ड भएपछि नेपाल ३५-४ को खराब अवस्थामा पुगेको थियो । राजवर्धनकै दशौं ओभरको अन्तिम सर्ट बलमा कुशल मल्ल सेकेन्ड सिलिपमा शून्यमा अभिषेक शर्माबाट क्याच आउट हुन पुगेका थिए ।
एक समय १० ओभरमा ३७-५ को दयनिय अवस्थामा पुगेको नेपाललाई छैटौं विकेटका लागि कप्तान रोहितकुमार पौडेल र अलराउन्डर सोमपाल कामीले ५३ रनको साझेदारी गरेका थिए । सोमपाल स्पिनर मानव सुथारको बलमा स्वीप खेल्ने धुनमा १४ रनमा एलबीडब्लू आउट हुन पुगेका थिए ।
भारत ‘ए’ टोलीका लागि स्पिनर निशान्त सिन्धुले ३.२ ओभरमा १४ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । तीव्र गतिका बलर राजवर्धन हंगागेकारले ६ ओभरमा १ मेडनसहित २५ रन खर्चेर ३ विकेट लिएका थिए । हर्षित रानाले ५ ओभरमा १ मेडनसहित १६ रन खर्चेर २ विकेट लिए । मानव सुथारले एक विकेट हात पारेका थिए ।
प्रतियोगितामा ८ टोलीको सहभागीता रहेको छ । समूह ‘ए’ मा श्रीलंकाको ‘ए’ टोली, बंगलादेशको ‘ए’ टोली, अफगानिस्तानको ‘ए’ टोली र ओमानको ‘ए’ टोली रहेका छन् । समूह ‘बी’ मा नेपाल, पाकिस्तानको ‘ए’ टोली, भारतको ‘ए’ टोली र संयुक्त अरब इमिरेट्स (यूएई) को ‘ए’ टोली रहेका छन् ।
नेपालले समूह चरणको तेस्रो तथा अन्तिम खेल बुधबार जुलाई १९ तारिखमा यूएईको ‘ए’ टोलीसँग खेल्नेछ । दुबै समूह चरणको खेलपछि अंक तालिकाको पहिलो र दोस्रो स्थानमा रहने टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । दुबै सेमिफाइनल खेल जुलाई २१ तारिखमा र फाइनल खेल २३ तारिखमा हुनेछ ।
नेपालले यो प्रतियोगितालाई एशिया कपको तयारीको रूपमा लिएको छ । एशिया कप आगामी अगष्ट–सेप्टेम्बरमा पाकिस्तान र श्रीलंकामै हुनेछ । नेपाल एशिया कपमा पनि भारत र पाकिस्तान रहेको समूह ‘ए’ मा नै परेको छ ।