काठमाडौं, असार २१ । लव एन्ड सपोर्ट फाउन्डेसनको आयोजना तथा बैकुण्ठ मानन्धर खेलकुद नेपाल र प्रयास मञ्चको सह–आयोजनामा भएको कोरोना सचेतना दौड शनिबार गरिएको थियो । बैकुण्ठ मानन्धर ५ किलोमिटर भेट्रान रोड रेस नाम दिइएको उक्त दौड त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् कार्यालयको मूल गेट बाहिरबाट सुरु भई विभिन्न भागको परिक्रमा गरी पुनः त्यही आएर टुंगिएको थियो ।
दौडलाई तीन समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइएको थियो । दौडमा ३ महिलासहित २५ जना प्रतिस्पर्धी सहभागी थिए । ६० वर्षमाथि उमेर समूहमा शम्भु दाहाल पहिलो, पुष्पलाल श्रेष्ठ दोश्रो र मंगलदास तण्डुकार तेश्रो भए । महिला खुला समूहमा याङदी लामा शेर्पा पहिलो, सीता रिमाल दोश्रो र राधा श्रेष्ठ तेश्रो बने । ४० देखि ५९ वर्ष उमेर समूहमा धर्म महर्जन प्रथम, भीमबहादुर गुरुङ द्वितीय र दीपककुमार रन्जित तृतीय स्थानमा रहे ।

कोरोना भाइरस (कोभिड–१९) का दौरान २५ जना भन्दा बढी भेला हुन नपाउने नेपाल सरकारको नियमलाई पालना गरी २५ जना मात्र सहभागी गराएर दौड सञ्चालन गरिएको पूर्व धावक समेत रहेका दौड संयोजक बुद्धवीर लामाले जानकारी गराए । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गरी उच्च सतर्कता अपनाउनुका साथै कोरोना भाइरसका दौरान कसरी सतर्क रहने भन्ने सन्देश प्रवाह गर्न दौड आयोजना गरिएको संयोजक लामाले बताए । सहभागी सबैले ‘सावधानी अपनाऔं’, ‘भौतिक दूरी कायम गरौं’, ‘आफू बाँचौं र अरुलाई पनि बचाऔं’, ‘दौडौं र स्वास्थ्य रहौं’ र ‘कोराना भगाऔं र सामान्य जीवनमा फर्कौ’ भन्ने नारा लेखिएको सन्देशमूलक प्लेकार्डलाई चेस्ट नम्बरका रुपमा प्रयोग गरेका थिए । सहभागी सबैले निर्धारित २५ किलोमिटर दूरी तय गर्न सफल भए ।
सहभागी मध्ये सबैभन्दा पाका ८४ वर्षीय डा.खगेन्द्रबहादुर श्रेष्ठ थिए । उनी स्पोर्ट्स फाउन्डेसनका अध्यक्ष पनि हुन् । अन्य सहभागीमा दक्षिण एसियाली खेलकुदका कीर्तिमानी पूर्व धावक बैकुण्ठ मानन्धर, एभरेष्ट म्याराथनकी तीन पटककी विजेता याङदी लामा शेर्पा, एसियन मास्टर्स एथलेटिक्स च्याम्पियनसिपका कांस्य विजेता धर्म महजर्न, संयोजक बुद्धवीर लामालगायत रहेका छन् । लामा बैकुण्ठ र अर्का पूर्व धावक जितबहादुर केसीले म्याराथनमा प्रतिस्पर्धा गर्ने बेलाका निकटम प्रतिद्वन्द्वी हुन् । बैकुण्ठ र केसीले फरक–फरक म्याराथनमा प्रतिस्पर्धा गर्दा सहभागी लामा जहिले पनि दोश्रो हुन्थे । विजेतालाई डा.खगेन्द्रबहादुर श्रेष्ठले प्रमाण पत्र र पदक वितरण गरेका थिए ।