पोखरा, चैत २ । पोखरेलीको प्रिय टिम मनाङ मस्र्याङ्दि क्लबले आहा ! रारा गोल्डकपको उपाधि जितेको छ । पोखरा रंगशालामा शनिबार भएको फाइनल खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा ४–३ गोलले पराजित गर्दै मनाङले उपाधि जितेको हो ।
आहा ! रारा गोल्डकपको यो उपाधि मनाङको छैटौं हो । यसअघि ५ पटक उपाधि जितिसकेको मनाङले आहा ! रारा गोल्डकपको दोस्रो, तेस्रो, दशौं, चौधौं र पन्ध्रौं संस्करणमा उपाधि चुमेको थियो । निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटको समयमा दुबैतर्फबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा गोलकिपर अशोक बरालले २ वटा पेनाल्टी सुट रोकेपछि मनाङको भाग्य खुलेको हो । बरालले पुलिसका अजित भण्डारी र तेज तामाङको प्रहार रोक्दै मनाङलाई छैटौं पटक च्याम्पियन बनाए ।
जितसँगै विजेता मनाङले नगद १० लाख एक हजार पुरस्कार प्राप्त गरेको छ । उपविजेता पुलिसले भने नगद पाँच लाख एक हजार रुपैयाँ पाएको छ । प्रतियोगितामा उपविजेता बनेको नेपाल पुलिस क्लबका अजित भण्डारी सर्वोत्कृष्ट खेलाडी बने । उनले अप्रिला स्कुटर प्राप्त गरे । विजेता टोली मनाङका खेलाडी अन्य विधामा उत्कृष्ट बने । मनाङका नितिन थापा उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट गोलकिपर अशोक बराल, उत्कृष्ट स्ट्राइकर अन्जन बिष्ट, उत्कृष्ट डिफेन्डर सुरज विके र उत्कृष्ट प्रशिक्षक फुजा टोपे बनेका हुन् । उनीहरूले जनही नगद २५ हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगितामा सर्वाधिक गोलकर्ता पाँच जना बने । नेपाल पुलिस क्लवका भरत शाह, नीरकुमार राई, मनाङका अन्जन बिष्ट, थ्री स्टारका सुसन श्रेष्ठ र त्रिदेव गुरुङ समान दुई गोल गर्दै सर्वाधिक गोलकर्ता बनेका हुन् । सर्वाधिक गोलकर्ताको पुरस्कार नगद २५ हजार भएकाले उनीहरूलाई दामासाहीले पाँच–पाँच हजार रुपैयाँ प्रदान गरियो ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्यसचिव रमेश सिलवाल, प्रतिनिधिसभाका सांसद सूर्यबहादुर केसी, एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, सहारा क्लब पोखराका अध्यक्ष केशबबहादुर थापालगायतले पुरस्कार वितरण गरेका थिए । सहारा क्लब पोखराको आयोजनामा गत फागुन २२ गतेदेखि सुरु भएको प्रतियोगिता १० दिनसम्म चलेको थियो ।