पोखरा, कात्तिक २९ । १३औँ दक्षिण एशियाली खेलकुद (साग) अन्तरगत करिब तीन महिनादेखि पोखरामा प्रशिक्षणमा रहेको राष्ट्रिय ह्याण्डबल महिला तथा पुरुषको दुबै टोली वैदेशिक प्रशिक्षणका लागि प्रस्थान गरेको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङले दुबै टोलीलाई पोखरा रंगशाला राष्ट्रिय झण्डासहित बिदाई गरेका थिए ।
विदाई कार्यक्रममा परिषद्का सदस्य गुरुङले खेलाडीले खेलेर के पाए भन्ने दिनहरुलाई समाप्त पार्न आफ्नो पहल रहने बताए । साथै, उनले समाजलाई खेलबाट नयाँ सन्देश दिनुपर्नेतर्फ ईंगित गर्दैै भने, ‘समाजका हरेक तप्कालाई आफ्ना छोरा–छोरीलाई खेलतर्फ आर्कषित गर्न राज्यले खेलाडीलाई सबै सुविधा उपलब्ध गराउन आवश्यक छ ।’ परिषद सदस्य गुरुङले १३औँ सागमा पदक जित्ने खेलाडीलाई कम्तिमा पनि एक तोला सुनको मेडल दिई थप हौसला बढाउन आफ्नो तर्फबाट पहल रहने बताए । उनले खेलाडीले आफ्नो जिवनयापनसंगै बाँच्ने आधार स्थापित गर्न राज्यको ध्यान जानुपर्ने कुरा उल्लेख गर्दै भने–‘खेलाडीले खेलेर जग्गा पाइँदो रहेछ, घर पाइँदो रहेछ’ भन्ने सन्देश समाज र यूवामा पुर्याउनु पर्छ ।’ उनले ह्याण्डबलले १३औं सागमा पदक जित्नेमा आफू विश्वस्त रहेको समेत बताए ।
त्यसैगरी, संघका अध्यक्ष एवम् नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष गुरुङले बैंककमा महिला टोलीले बैंककस्थित विश्वविद्यालय टोलीहरुसंग १० देखि १२ वटा मैत्रीपूर्ण म्याचसहित अभ्यास म्याचहरु खेल्ने जानकारी दिए । उनले भारतमा जाने पुरुष टोलीले त्यहाँ भारतको विभिन्न स्थानीय टिमहरुसंग मैत्रीपूर्ण खेलहरु खेल्ने जानकारी दिए । दुबै टोली मंसिर १२ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ । १३औं साग अन्तरगत ह्याण्डबल खेल मंसिरको १७ गते बाट पोखरा रंगशालास्थित कभर्डहलमा हुनेछ जसमा ६ राष्ट्रका महिला पुरुष टोलीको सहभागिता रहनेछ ।
बैदेशिक प्रशिक्षण अन्तरगत पुरुषको राष्ट्रिय ह्याण्डबल टोली भारतको चण्डिगढस्थित पटियालामा प्रशिक्षण गर्ने र महिला टोलीले थाइल्याण्डको बैंककमा प्रशिक्षण गर्ने नेपाल ह्याण्डबल संघका अध्यक्ष तेज गुरुङले बताए । भारत जाने पुरुष खेलाडीहरुमा टिम कप्तान बिशाल बस्नेत, दिनेश श्रेष्ठ, बिशाल नेपाली, दिपक सिं बोहोरा, संदिप कार्की, रण सिं रावत, इन्द्र नारायण चौधरी, मदन चुनारा, श्रीबहादुर सिंजाली, यम बहादुर पुन, आषिश अधिकारी, केशव बिष्ट, सरोज सिंह, सन्तोष श्रेष्ठ, हेमन्त थापा र शरण थापा रहेका छन भने महिलातर्फ टिम कप्तान रञ्जना राई, बबिता श्रेष्ठ, अर्चना न्यौपाने, संगीता चौधरी, कविता राई, बन्दना राई, दुर्गा बोहोरा, शान्तिकला राई, झिनमाया थापा, आईतालामू शेर्पा, राम कुमारी चौधरी, शारदा विक, कल्पना वली, उमा राई, निशा राई र देवकुमारी बास्कोटा रहेका छन ।
यससँगै दुबै टोलीका टिम म्यानेजर जिवन बस्नेत र शान्ती थापा वैद्य, विदेशी प्रशिक्षक जोआ फ्लोरेन्सियो, वरिष्ठ प्रशिक्षक अरुणलाल कर्ण, कृष्ण शाक्य, टेक बहादुर परियार र विन्दा थापा रहेका छन ।
विदाई कार्यक्रममा १३औं साग स्थानीय सहजीकरण समितिका सचिव लक्ष्मण योगी, कास्की ह्याण्डबल संघका कार्यबाहक अध्यक्ष चित्र थापा, कास्की ह्याण्डबल संघका वैदेशिक विभाग प्रमुख राम गुरुङ लगायतको उपस्थिति रहेको थियो ।