काठमाडौं, कात्तिक २६ । नेपालदेखि अमेरिकामा रहेका कलाकारहरुको जम्बो जमघटका साथ चौथो ग्लोबल नेपाली फिल्म अवार्ड–२०१९ अमेरिकामा भव्य रुपमा हुने भएको छ । आयोजकका अनुसार तयारी अन्तिम चरणमा पुगेको उक्त अवार्ड ‘आफनै नाम, शान र पहिचान’ भन्ने मूल नाराका साथ अमेरिकाको सान फ्रान्सिस्को बे एरियामा यहि नोभेम्बर ३० देखि डिसेम्बर १ सम्म हुने भएको हो ।
हलिउडका कार्यक्रम हुने महंगो युसी थिएटरमा उक्त अर्वाड हुँदैछ । युसी थिएटरमा नेपाली कार्यक्रम हुने लागेको यो नै पहिलो अवार्ड हुनेछ । उक्त अवार्डका मुख्य आयोजकका रुपमा गोल्डेन स्टेट मुभी मेकर एलएलसी क्यालिफोर्निया, ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसी र नेपाल फिल्म सोसाइटी रहेका छन भने ८८४८ मिडिया हाउस र हिमालय फाउन्डेसन सह–आयोजक रहेका छन् । अवार्ड कार्यक्रम निर्माणको सम्पूर्ण जिम्मेवारी नारायण पुरी, राजु बजाज र एसबाबु सन्दिपलाई आयोजक तिनवटै संस्थाको तर्फबाट प्रदान गरिएको छ ।
आयोजकका अनुसार नेपाली चलचित्रकर्मीहरुलाई सम्मान, पुरस्कार र प्रोत्साहनका साथै विशुद्ध नेपाली सिनेमाको बजार प्रवद्र्धन, सिनेमा टुरिजम विषयमा अन्तरक्रिया, कलाकार पुनर्मिलन र चलचित्र पर्यटन तथा भिजिट नेपाल २०२० को पूर्व सन्ध्यामा नेपालमा अधिक मात्रामा पर्यटन भित्र्यिाउने अवार्डको उद्देश्य रहेको छ ।
गोल्डेन स्टेट मुभी मेकर एलएलसी क्यालिफोर्नियाका अध्यक्ष यज्ञलाल श्रेष्ठका अनुसार यसपटक विगतमा भन्दा अवार्ड भव्य हुने र यो अर्वाडमा प्राय नेपाली कलाकारहरुको जमघट हुने कुम्भ मेला जस्तै हुने छ । नेपालदेखि अमेरिकामा रहेका नेपाली कलाकारहरुको सहभागी हुने अवार्डमा पुरानो पुस्ताका राजेश हमाल, भुवन केसी, शिव श्रेष्ठदेखि पछिल्लो पुस्ताका अनमोल केसी, वर्षा राउत लगायतका कलाकारहरुको सहभागिता हुने अध्यक्ष श्रेष्ठले बताए । उनले यस अर्वाडमा करिब एक लाख डलर खर्च हुने जनाएका छन् ।
त्यसैगरी, अवार्ड कार्यक्रमको भोलिपल्ट अर्थात् डिसेम्बर १ तारिखको दिन बिहान कलाकारसहितको सहभागितामा भिजिट नेपाल २०२० लाई प्रमोसन गर्ने उद्देश्यले बर्कलि सिटीको मुख्य सडक नै एक घण्टा बन्द गरी नेपाल डे परेड मनाइने कार्यक्रमसमेत रहेको छ ।