पोखरा, असोज ३० । नेपालमा आयोजना हुने १३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत हुने ह्याण्डबल महिला तथा पुरुष खेलाडीहरुको बिहिबार पोखरामा अन्तिम छनौट सम्पन्न गरिएको छ । यहि मंसिर १५ देखि २४ गते सम्म पोखरामा १३औँ सागअन्तरगत हुने ह्याण्डबल महिला र पुरुषतर्फ १६–१६ जना खेलाडी अन्तिम छनौटमा परेका हुन् ।
नेपाल ह्याण्डबल संघका अध्यक्ष तेज गुरुङका अनुसार पुरुषतर्फ छनौटमा परेका खेलाडीहरुमा विशाल बस्नेत, दिनेश श्रेष्ठ, विशाल नेपाली, दिपक सिं बोहोरा, संदिपकार्की, रणसिं रावत, इन्द्र नारायण चौधरी, मदनचुनारा, श्रीबहादुर सिंजाली, यमबहादुर पुन, आषिशअधिकारी, केशव विष्ट, सरोज सिंह, सन्तोष श्रेष्ठ, हेमन्तथापा र शरण थापा रहेका छन । त्यसैगरी, महिला टिमतर्फ छनौटमा परेकाहरुमा बबिता श्रेष्ठ, अर्चना न्यौपाने, संगिता चौधरी, कविता राई, बन्दना राई, दुर्गा बोहोरा, रञ्जना राई, शान्तिकला राई, झिनमाया थापा, आईतालामू शेर्पा, रामकुमारी चौधरी, शारदा विक, कल्पना ओली, उमा राई, निशा राई र देव कुमारी बास्कोटा रहेका छन् ।
छनौट समितीले पुरुष र महिलातर्फ ५–५ जना बैकल्पिक खेलाडीसमेत छनौट गरेको छ । महिलातर्फ बैकल्पिक खेलाडीमा जिना राई, साधनावम, विष्णा बोगटी, देबीश्रेष्ठ र मञ्जु राउत छन् भने पुरुषमा सरुणमान श्रेष्ठ, तारा केसी, प्रविण गुरुङ, जोनेश पुर्जा र पवन छन्त्याल रहेका छन् । छनौट समितिमा नेपाल ह्याण्डबल संघका उपाध्यक्ष जिवन बस्नेत, नेपाल ह्याण्डबल संघका सचिब केशव पाठक, विदेशी प्रशिक्षक (पोर्चुगल) जोआ फ्लोरेन्सिया, ह्याण्डवलका मुख्य प्रशिक्षक एवं तालिम तथा प्रशिक्षण विभाग राखेपका उप–निर्देशक हिमालराज दहाल र बरिष्ठ प्रशिक्षक अरुणलाल कर्ण रहेका थिए ।
खेलाडी छनौट घोषणा कार्यक्रममा बोल्दै संघका अध्यक्ष एवम् नेपाल ओलोम्पिक कमिटीका उपाध्यक्ष तेज गुरुङले खेलाडीहरुले अनुशासनलाई प्राथमिकताका साथ पालना गर्न आग्रह गरे । यसैगरी, ह्याण्डबलका उपाध्यक्ष एवम् गण्डकी प्रदेशका सांसद मोहन रेग्मीले सागमा सबै खेलाडीले राष्ट्रको गरिमालाई माथी उठाउने गरि आफ्नो खेल प्रस्तुत गर्न सक्दो प्रयास गर्न अनुरोध गरे । साग तयारीका लागि ह्याण्डबलको महिला तथा पुरुष टिमका राष्ट्रिय खेलाडीहरु गत असोज १६ गतेबाट बन्द प्रशिक्षणमा रहेका थिए । बन्द प्रशिक्षण अन्तरगत पहिलो चरणमा २८–२८ जना र दोश्रो चरणमा २२–२२ जना खेलाडी बन्द प्रशिक्षणमा रहेका थिए । दोश्रो चरणको करिब एक महिनाको बन्द प्रशिक्षणपछि १६–१६ जना खेलाडी अन्तिम चरणका लागि छनौट भएका हुन् । छनौट भएका खेलाडीले १३औँ सागअन्तरगत ह्याण्डबल प्रतिस्पर्धामा उत्रने छन् ।