एजेन्सी, २१ असार – समारा एरेनामा भएको प्रि-क्वाटरफाइनलमा नेयमार र रोबर्टो फिर्मिनोको गोलमा मेक्सिकोलाई २-० गोल अन्तरले पराजित गर्दै ब्राजिलले क्वाटर फाइनलमा स्थान सुरक्षित गरिसकेको छ। क्वाटरफाइनलमा ५ पटकको विश्वकप च्याम्पियन ब्राजिलले बेल्जियमको सामना गर्नेछ।
अर्जेन्टिनाका पूर्व फुटबलर तथा लिजेण्ड डिएगो माराडोनाले यो पटक ब्राजिलले विश्वकप जितेर इतिहास बलियो बनाउन सक्ने बताएका छन्।
ब्राजिलले नेयमार र फिर्मिनोको बलमा समारा अरेनामा भएको खेलमा मेक्सिकोलाई पराजित गर्दै क्वाटर फाइनलमा एक स्थान बनाउँदै फुटबल जगतमा गोल्डेन जेनेरेसन भनेर चिनिएको बेल्जियमसँग भेट पक्का गरेको हो। भेनेजुएलाको एक समाचार च्यानल डे ला मानो डे डिएजले लेखेको म्याराडोनाको भनार्इ यस्तो रहेको छ, "ब्राजिलको मजबुत टोली छ र मैले यसलाई विश्वकप जित्ने देखिरहेको छु।"
उनले भने, 'ब्राजिलका प्रशिक्षक टिटी मलार्इ मन पर्ने प्रशिक्षक हुन्। मेक्सिको ब्राजिलविरुद्धको खेलमा पनि त्यसरी नै खेल्न चाहन्थ्यो जसरी जर्मनीविरुद्ध खेलेको थियो।' मेक्सिकोबाट त्यो भन्दा बढी अाशा गर्ने ठाउँ नभएको पनि म्याराडोनाले बताएका छन्।
म्याराडोनालार्इ पुन अर्जेन्टाइन प्रशिक्षकको रुपमा फिर्ता हुन सक्ने सम्भावनाको बारेमा सोध्दा भने, 'सम्भावना छ म फर्किन सक्छु। र, त्यसका लागि के ही पनि लिने छुइन।'
डिएगो म्यारोडाना अफ्रिकामा अायोजित २०१० विश्वकपमा अर्जेन्टिनाका प्रशिक्षक थिए। उक्त विश्वकपको क्वाटरफाइनलमा अर्जेन्टिना जर्मनीविरुद्ध क्वाटरफाइनलमा पराजित भएको थियो। जारी विश्वपकमा अर्जेन्टिना नकअाउट चरणमा फ्रान्ससँग ४-३ गोलले पराजित हुँदै बाहिरि सकेको छ।