जेठ १, लहान । असुरक्षा र औद्योगिक वातारणको आभावमा उद्योगविहीन बनेको सप्तरीको रुपनी गाउँपालिकास्थित् गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा पछिल्लो समयमा उद्योग फस्टाउन थालेका छन् । केही वर्षअघिसम्म उद्योगविहीन औद्योगिक क्षेत्रका रुपमा परिचित सो औद्योगिक क्षेत्रमा सुरक्षाको प्रत्याभूति र सुविधा दिन थालेपछि उद्योगधन्दा फस्टाउन थालेका हुन् ।
औद्योगिक क्षेत्रमा अहिले तीन ओटा उद्योग सञ्चालनमा छन् भने थप दुई ओटा उद्योग सञ्चालन तयारीको अन्तिम चरणमा पुगेको छ ।
औद्योगिक क्षेत्रमा अहिले मिलन डेरी उद्योग, महालक्ष्मी पेट इन्ड्रष्टिज र कोशी पोलिमर्स प्रा.लि. सञ्चालनमा छन् भने कान्तिपुर प्लाष्टिक इन्ड्रष्टिज र उषा जल उद्योग केही महीनाभित्रै सञ्चालनको अन्तिम तयारीमा पुगेको औद्योगिक क्षेत्रका प्रमुख दीपक आचार्यले जानकारी दिए ।
यस्तै बन्द रहेको माँ भगवती कृषि सहकारी संस्था लिमिटेडको टमाटर प्रशोधन उद्योगले भाडावापतको बाँकी बक्यौता रकम बुझाएर सञ्चालन गर्न लागेको प्रमुख आचार्यले जानकारी दिए । शान्ति सुरक्षा, खानेपानी, बिजुलीलगायतको समस्या झेल्दै आएको औद्योगिक क्षेत्रमा उद्योग प्रबर्द्धन गर्नका लागि सरकारले पहिलो पटक यस वर्ष रू.५ करोड बजेट विनियोजन गरेकाले ती समस्या समाधान हुने प्रमुख आचार्यको भनाइ छ ।
कूल २९४ रोपनीमा फैलिएको सो औद्योगिक क्षेत्रभित्रमा बैंक भवन, हुलाक, स्वास्थ्य क्लिनिक भवन, चमेनागृह, गेस्ट हाउस, विद्युत् टेलिफोनलगायत सम्पूर्ण सुविधा रहेका छन् । यस औद्योगिक क्षेत्रमा नेपाल सरकारको तर्फबाट कार्यालय प्रमुखसहित १० कर्मचारीको दरबन्दी रहेको छ । सो औद्योगिक क्षेत्रमा १० ओटा घरेलु उद्योग सञ्चालन गर्न सक्ने क्षमता छ ।
भारत सरकारको सहयोगमा वि.सं. २०४४ मा शिलान्यास भएको उक्त औद्योगिक क्षेत्र निर्माण भएपश्चात् २०५१ सालमा नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो । त्यसवेला त्यहाँ नौ उद्योग सञ्चालनमा आएका थिए । राजविराज औद्योगिक क्षेत्रको नामबाट स्थापित उक्त औद्योगिक क्षेत्रलाई हृदयेश त्रिपाठी उद्योगमन्त्री भएका बेला गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र नामाकरण गरिएको थियो ।
तत्कालीन नेकपा माओवादीको सशस्त्र द्वन्द्व र तराईमा सशस्त्र संघर्ष समूहका कारण असुरक्षित भएको भन्दै सदरमुकाम राजविराजबाट करीब चार किलोमिटर उत्तरमा रहेको सो औद्योगिक क्षेत्रमा सञ्चालित उद्योग बन्द भएका थिए । त्यसपछि उद्योगविहीन बनेको औद्योगिक क्षेत्र केबल पिकनिकस्थल र राजनीतिक गतिविधि गर्ने स्थलको रुपमा परिणत भएको थियो तर पछिल्लो समय तराईमा सशस्त्र संघर्षरत समूहमध्ये अधिकांश समूह वार्तामा आइसकेकाले शान्ति सुरक्षा सुदृढ भएको छ । सरकारले पनि उद्योग सञ्चालनका लागि सुविधा दिन थालेकाले त्यहाँ उद्योगधन्दा फस्टाउन थालेको स्थानीय उद्योगी बताउँछन् ।
स्थानीय व्यापारी तथा नागरिक समाज सप्तरीका अध्यक्ष थानसिंह भन्साली भन्छन्, ‘शान्ति सुरक्षामा आएको सुधार र भवन भाडामा सरकारले सहुलियत दिने व्यवस्था गरेपछि उद्योग खुल्न थालेको हो, अब यसलाई सबै मिलेर संरक्षित गर्नु जरुरी छ ।’ यो औद्योगिक क्षेत्र जिल्लाको आर्थिक विकास र बेरोजगारी समस्यालाई समेत समाधान गर्न महत्वपूर्ण भूमिका खेल्नेछ दाबी उनको छ । रासस