उमेश दाहाल,
कलेजमा ४ घण्टी मात्र पढेर होस्टेल फर्किँदै गर्दा एक जना साथी र म कलेजबाट मेरो होस्टेल नपुग्दै बाटैमा रहेको मदन भण्डारी स्मृतिबाटिकामा केही समय बिताउनका लागि फलामको फलैँचामा बस्याैं ।
हामी लगभग ४५ मिनेटसम्म बसेर कुरा गरिरहँदा एक जना भाइ लगभग ९/१० वर्षका हुनु पर्छ विद्यालयको पोशाकमा छेवैको अर्को बेन्चमा बसिरहेका थिए । ९ः४५ बजे साथीको पनि अफिसका लागि समय भएको र म पनि होस्टेलमा खाना खाएर अफिस पुग्नु पर्ने भएकोले पार्कबाट निस्किने लाग्याैं र साथीले घडी हेरेर अब जाअाैं भन्दै गर्दा तिनै निन्याउरो अनुहार लगाएर छैउमा बसेका भाइले मलिन अावाजमा कति बज्यो भनेर सोधे ।
साथीले ९ः५० भयो भने पछि भाइको निराशा अझ बढेको महसुश गर्दै मैले सोधैं तिम्रो स्कुल कतिबजे लाग्छ, अनि कति बजे जान्छाै ? भाइले म अाज स्कुल नै जान्न भन्ने उत्तर दिए मेरो मनमा कता कता शंका उब्जिएको हुनाले भाइलार्इ सोधैं किन नजाने भन्दा भाइले तेसै मात्र भने । होमवर्क नगरेर हो भनेर सोध्दा पनि होइन मात्र भने । साथीलार्इ ढिला हुनै लागेका कारण हामी निस्कियाैं साथी अफिस तिर लागे पछि म पार्क नजिकैको होस्टेलमा गएँ । साथीलार्इ छुट्ने बेलामा मैले पनि यसरी स्कुल नगइ मकैबारीमा दिन बिताउने गरेको र बुबाले थाहा पाएर राम धुलाइ गरेको कुरा सुनाएँ ।
उक्त कुरा सुनाउँदै गर्दा म त्यसरी मकैबारीमा दिन बिताउनु परेको बाध्यताको पुनः महशुृस भयो । हिमाली जिल्ला ताप्लेजुङको विकट गाउँमा हुर्किएको श्री त्रिभुवन प्रा.वि हिरुवादिनमा पढ्दा हाम्रो टोलबाट स्कुल जाने समुहमा सबै भन्दा सानो थिएँ ।
म सानो भएको फाइदा उठाएर अरु दाइ दिदी तथा उमेरले ठूला तर कक्षामा सँगै पढ्ने साथीहरु समेत कहिले बाघ अायो भनेर भाग्थे म सकि नसकी रुँदै कुद्थेँ… त्यस्तै स्कुलबाट घर फर्किने बाटोमा एउटा घरमा टोक्ने कुकुर पालेका थिए । त्यो कुकुरलार्इ पनि बिच्क्याइदिएर म भन्दा ठूला जति भाग्थे र म बाटैमा छेकिन्थेँ । यि सबै अत्याचारको सहनशीलता तोडिएपछि १ दिन मैले घरमा अाएर बुबालार्इ भने ।
बुबाले भोली पल्ट मलार्इ स्कुलसँगै लिएर जानुभयो र हेडसरलार्इ कुरा गरेपछि ती सबैले राम धुलाइ खाएका थिए । मलाइ लागेको थियो त्यस दिनबाट अरु अत्याचार सहनु पर्ने छैन । बेलुका स्कुल छुट्टी भए पछि घर अाउँदा ती मभन्दा ठूला साथी तथा दाइ दिदी न कुकुर बोलाए नत बाघ अायो भने तर… ती सबै कुराको बदलामा मलाइ माथी उचालिने गरि पछाडी बाट १–१ लात्ती बजाइ यो कुरा घरमा वा स्कुलमा भने भोली २—२ लाती भट्ने चेतावनी पनि दिए ।
५/६ जनाको १–१ लात्तीले तर्सिएको म रुँदै घर पुगे पनि त्यस अगाडीनै धारामा मुख धोएर रोएको थाहा नपाउने भएको थिएँ । बुबालार्इ पनि भने… उनीहरुले कुटाइ पनि खाए तर, सबैको नतिजा मैले पाएँ । फेरी अर्को दिन स्कुल जान भनेर हिँडेको मेरा सामू केही पनि उपाय थिएन र घरबाट अलिकती माथीको मकैबारीमा लगातार ३ दिन बिताउँदै स्कुल छुट्टी हुने समयमा ४ बजे घर अाउने गरेँ । नियमित स्कुल जाने म लगातार स्कुल नगए पछि बुबालार्इ खबर भएछ र बुबाले सोध्दा त्यतीबेला कहिले झुटो नबोल्ने मैले बुबाको देब्रे हातले भुइँमा उत्तानो पर्ने गरि खाएको थिएँ ।
अाज भाइले म स्कुल जान्न भन्दा यही कुराले पिरोल्यो मलाइ र मैले पुनः ती भाइलार्इ भेट्ने विचार गरेँ । होस्टेलमा पुगेर हतार हतार खाना खाएर अफिसकालागि तयार भइ पुनः ती भाइलार्इ भेट्न पार्कमा छिँरे । भाइ अाफ्नो ज्यान भन्दा ठूलो झोला बोकेर त्यही बेन्चमा बसिरहेका रहेछन् । उनको छेउमा एक जना अर्का व्यक्ति पनि भएका कारण मैले उनलार्इ बोलाएर अर्को बेन्चमा लगेर छेउमा बसाएर मनसाय बुझ्ने कोशिस गरेँ । निकै बेरको प्रयास पछि मात्र उनले मुख खोले होमवर्क नगरेको हुनाले उनले अाज विद्यालय नगइ पार्कमै दिन बिताउने निर्णय गरेका रहेछन् ।
त्यसपछि उनको परिचय सोधैँ
मः- तिम्रो नाम चाहीँ के हो ?
भाइः- रोशन निराैला (नाम परिवर्तन)
मः- अनि तिम्रो घर ?
भाइः- घर त जिल्ला साम्दु गाविस अहिले त यीँ परतिर कोठामा बस्छाैँ दादा (रमेश, नाम परिवर्तन) र म ।
मः- कुन स्कुलमा पढ्छाै ?
भाइः- मनकामना बोर्डिङ स्कुल कोटेश्वर ।
मः- दाजु अहिले कोठामै हुनुहुन्छ, देख्नु भयो भने त तिमीलार्इ मार्नुहुन्छ होला नि फेरी ?
भाइः- होइन । देख्नु हुन्न दाजु अफिस गइसक्नु भयो अब भरे ६/७ बजे मात्रै अाउनु हुन्छ ।
मः- अनि होमवर्क किन नगरेको त ? नजानेर कि अल्छी लागेर ?
भाइः- नजानेर नि ।
मः- अनि दाजुलाइ सिकाइ मागेनाै?
भाइः- दादा भ्याउनु त हुन्न ।
मः- अनि होमवर्क नगरी गयो भने के हुन्छ स्कुलमा ?
भाइः- मिसले धेरै कुट्नु हुन्छ ।
मः- गर्न जानिँन भन्दा पनि कुट्नु हुन्छ ?
भाइः- कुरो सुन्नु हुन्न कतिसाह्रो कुट्नु हुन्छ ।( भाइले दयालु स्वरमा मलाइ सुनाए )
मः अनि भोली के गर्छाै ?
भाइः- भोली त अाजको होमवर्क चेक हुँदैन अनि जान्छु ।
त्यस पछि मलाइ भाइको अत्यन्तै माया लागेपछि सोधेँ।
मः- झोलामा खाजा छ ?
भाइः- छैन ।
मः- अनि कतिबजे जान्छाै अब ?
भाइः- १ बजे जान्छु कोठामा अनि बस्छु ।
मः- अहिले जाँदा हुँदैन अनि जाउ कोठामा गएर बस ।
भाइः- नाइँ । सँगै कोठा बस्नेले थाहापाउँछन् अनि दाजुलार्इ भन्दिए भने मलाइ मार्नु हुन्छ ।
मः- अनि १ बजे जाँदा चाहीँ ?
भाइः- मिस हुनुन्न थ्यो भनेर जाँदा हुन्छ नि ।
मः- अनि खाजा ?
भाइः- कोठमा गएर खान्छु ।
त्यसपछि मैले भाइलार्इ यसरी पार्कमा एक्ले स्कुल छोडेर बस्नु हुन्न भोलीदेखि यस्तो नगर्नु भनेर सम्झाए पछि हुन्छ भने । र, अाजको होमवर्क दादालार्इ सिकाइ मागेर गरेर भोली स्कुल जाने बाचा गरेका छन् । समय निकै भएका कारण अफिस जान मलार्इ ढिलो भइसकेको थियो र म भाइलार्इ खाजा खानु भनेर केही पैसा दिएर अफिस तिर लागेँ ।
मनमा धेरैकुरा अाए सबै भन्दा धेरै त मलार्इ ति भाइको अवस्था र बाध्यता देखेर धेरै माया लागेर अायो । अनिसँगसँगै अायो हाम्रो देशको शिक्षा प्रणाली । पहाडि विकट ठाउँका ति भाइलार्इ पक्कै पनि गुणस्तरिय शिक्षाकालागि निजी विद्यालयमा पढाउनका लागि काठमाडाैंमा राखिएको हुनु पर्छ । तर, अभिभावकको कमी र स्कुललार्इ बाल—कारागारको रुपमा विकास गरिरहेका काठमाडाैंका धेरै जसो निजी विद्यालयहरुको कुकर्मको फल त्यो निर्दोष बालकले भोगी रहेको थियो ।
पक्कै पनि गाउँको स्थानिय विद्यालयमा गुणस्तरिय शिक्षाको व्यवस्था सरकारले गरिदिने भए होमवर्क गर्न नसकेका कारण सयाैं अन्जान मानिसहरुको अावत् जावत् हुने मदनभण्डारी पार्कमा ति भाइले एक्लै दिन बिताउनु पर्ने थिएन होला । निजी विद्यालयलार्इ बाल-कारागार होइन सिक्ने स्थान बनाइयोस् । विद्यार्थीले यदी गृहकार्य गर्दैन भने दण्डीत गर्न हात उठाउनु भन्दा अगाडी समस्याको कारण र समाधान खोजियोस् ।
बाटोमा अाउँदा फर्किएर गएर ति भाइसँग अाजको दिनसँगै बसेर अझै धेरैकुरा सोध्न मनलागिरहेको थियो तर, अफिस अाउनै पर्ने बाध्यताका सामुन्ने मेरा भावनाको केही जोर चलेन र भोली ति भाइलार्इ त्यो समयलमा स्कुल जाँदै गरेको र बेलुका अफिसबाट फर्किँदा स्कुलबाट फर्किँदै गरेको देख्न पाउँ भन्ने मनोकामना गर्दै म अफिस पुगेँ ।
मेरो भन्नुः पढ्नु भयो र मेरो यो वास्तविक घटनाको चित्रण तर्क सम्मतलागे सुझाव दिनका साथै लागे शेयर गरिदिनु होला । त्यो भाइको ठाउँमा हाम्रा भाइ बहिनी तथा छोराछोरीहरु हुँदैनन् भन्ने ग्यारेन्टी छैन त्यसैले बदल्नु छ सिस्टम र बदल्नु छ विद्यालयको गलत परिभाषा ।