काठमाडाैं, १३ भदाै – निरन्तर ओरालो लागिरहेको बजार बुधबार पनि ओरालो लागेको छ। सूचीकृत कम्पनीहरुले गत आर्थिक वर्षको कमाईबाट लाभांस घोषण गर्ने क्रम शुरु हुनै लाग्दा पनि बजार भने सुस्त अवस्थामा रहेको छ। बोनस र नगद लाभांस मध्ये कुन धेरै प्राथमिकतामा पर्ला भन्दै लगानीकर्ता पर्ख र हेरको अवस्थामा छन्।
बुधबार बजार खुलेदेखि सुस्त गतिमा ओरालो लागेको छ। कारोबार रकम पनि १९ करोड रुपैंयामा खुम्चिँदा लगानीकर्ता कारोबारको निर्णय गर्न पर्खिएको देखाउँछ। बुधबार बजार सूचक ४.७९ अंकले घटेर ११७२.३० अंकमा ओर्लिएको छ।
१६३ कम्पनीका ६ लाख ४ हजार ४ सय कित्ता शेयर ३ हजार २ सय ७२ पटकको कारोबाराबाट १९ करोड २१ लख ५६ हजार रुपैंयामा किनबेच भएका छन्। मंगलबारको तुलनामा कारोबार रकम भने १६ लाख रुपैंयाले बढेको हो।
बुधबार कारोबारमा आएका सबै समुह ओरालो लागेका छन्। कारोबारमा आएका १६३ मध्ये ३२ कम्पनीको मात्र शेयरमूल्य बढेको बजारमा अरु कम्पनीको शेयर मूल्य घटेको छ। बुधबार नेपाल इन्भेष्टमेन्ट बैंकको शेयर सबै भन्दा धेरै अर्थात एक करोड ३२ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। संख्याका आधारमा मेगा बैंकको ५३ हजार ४९१ कित्ता शेयर कारोबार भएको छ।
बैंक र बीमा कम्पनीको शेयरमा कारोबार चाप देखिएको बजारमा जीवन बीमा कम्पनी र निर्जीवन बीमा कम्पनी उपसमुहमा अधिक गिरावट आएको छ। बुधबार जीबन बीमा समूहको सूचक सबै भन्दा धेरै ३८.१८ अंकले घटेको छ।
निर्जीवन बीमा २८.४, उत्पादनमूलक समूह १७.०६, लघुवित्त समूह ९.६३, विकास बैंक समूह ७.९७, जलविद्युत समूहको ७.९५, अन्य समूह ४.५, बैंकिङ्ग समूह २.४८, होटल समूह २.२६ र फाइनान्स समूह २.१२ अंकले ओरालो लागेका छन्।
व्याजदर तत्काल घट्ने संकेत अझै नदेखिनु, नोक्सानको आकार दिनदिनै बढ्दै जानु लगायत कारणले बजारमा गिरावटको क्रमले निरन्तरता पाएको हो। भदौ महिना शुरु भएयता मंगलबार मात्र बजार झण्डै ४ अंकले उकालो लागेको थियो।
राष्ट्र बैंकले तोकेको पूँजी पुर्याइसकेको अवस्थामा बैंक तथा वित्तीय संस्थाहरुले बोनस नभई नगद लाभांसलाई बढी प्राथमिकतामा राख्ने आशंकामा पनि बजार संकुचित बनिरहेको छ।बुधबार बजारमा आएको गिरावटसँगै समग्र बजार पूँजीकरण १३ खर्ब ९४ करोड ६५ लाख रुपैंयामा झरेको छ। मंगलबार १४ खर्ब रुपैंया पूँजीकरण भएको थियो।