काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. २२ को आयोजनामा भएको दोस्रो शहीद सुरज शाक्य स्मृति महानगरव्यापी अन्तर वडा चेस प्रतियोगिताको पहिलो दिन आइतबार तीन चरण सम्पन्न भएका छन् । सङ्कटा मन्दिरको प्राङगणमा भएको प्रतियोगितामा दुई खुल्ला तथा अनिवार्य एक महिला र एक यु–१६ का खेलाडीको टिमसहित हरेक वडाले प्रतिस्पर्धा गरिरहेका छन् ।
पहिलो दिन आयोजक वडा नं २२ को टिम ए र वडा नं ११ सर्वाधिक ६–६ अङ्क बनाएर संयुक्त अग्रस्थानमा रहन सफल बने । वडा नं २२ टिम एबाट पहिलो बोर्डमा नवीन तण्डुकार, दोस्रो बोर्डमा प्रकास नेपाल, तेस्रो बोर्डमा यु १६ का हार्दिक पन्त र चौथो बोर्डमा महिला खेलाडी पुजा भण्डारीले प्रतिस्पर्धा गर्नुभएको थियो । शीर्ष स्थान बनाउन वडा नं २२ ले वडा ९, वडा २७ र वडा २३ लाई हराएको थियो ।
यसैगरी वडा ११ ले पहिलो चरणमा वडा १०, दोस्रो चरणमा वडा ३ र तेस्रो चरणमा वडा २८ लाई पराजित गर्यो । वडा ११ को टिममा क्षितिज भण्डारी, विजेश राजकर्णिकार, प्रवीर केसी (यु–१६) र राधिका पौडेल (महिला) ले खेल्नुभएको थियो । गत विजेता वडा नं. ७ र वडा १९ संयुक्तरुपमा दोस्रो स्थानमा रहेका छन् । यी दुवै वडाले समान पाँच अङ्क हासिल गरे । वडा १२, वडा २७, वडा ३२, वडा २३, वडा २८, वडा २५, वडा ३ र वडा नं ३ संयुत्ररुपमा तेस्रो स्थानमा छन् । यी आठै वडाले समान चार अङ्क बनाएका छन् ।
यसअघि काठमाडौं महानगरपालिका वडा २२ का अध्यक्ष चिनिकाजी महर्जन, वडा २१ का अध्यक्ष उदयचुडामणि वज्राचार्य, वडा २२ का सदस्य अनिल हाडा, चन्द्रमान तुलाधर, ललिता खड्गी र नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जनले संयुक्तरुपमा चेसको गोटी चालेर प्रतियोगिताको उदघाटन गर्नुभएको थियो ।
नेपाल बुद्धिचाल महासंघको प्राविधिक सहयोगमा स्विस लिगको आधारमा भइरहेको प्रतियागितामा २८ टिमको सहभागता रहेको छ । प्रतियोगितामा विजेतालाई ६० हजार, उपविजेतालाई ४० हजार र तेस्रो स्थान हासिल गर्ने टिमले ३० हजार रुपियाँसहित शिल्ड र पदक प्रदान गरिनेछ । यसैगरी सान्त्वना पुरस्कार प्राप्त गर्ने टिमले २० हजार रुपियाँ प्राप्त गर्नेछ । यसैगरी प्रत्येक बोर्डमा उत्कृष्ट हुनेलाई जनही दस हजार रुपियाँले पुरस्कृत गरिनेछ ।