काठमाडौं । हिमालयन जाभा बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा मंगलबार त्रिभुवन आर्मी क्लब र केभिसी हाउण्ड्स विजयी भएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा मंगलबार भएको खेलमा आर्मीले कीर्तिपुरलाई ९६-७९ ले पराजित गरेको छ ।
आर्मीले सुरुवाती दुई क्वाटरमा बनाएको अग्रता नै जितको आधार बन्यो । आर्मीले पहिलो क्वाटर ३१-१६ र दोस्रो क्वाटर २७-१३ ले आफ्नो पक्षमा पार्दै हाफ टाईमसम्म ५८-२९ को अग्रता बनाएको थियो ।
तेस्रो क्वाटर २३-२३ को बराबरीमा सकियो भने चाैथो क्वाटर कीर्तिपुरले २७-१५ ले आफ्नो पक्षमा पारेपनि आर्मीलाई जितबाट रोक्न सकेन । यस खेलमा कीर्तिपुरका लक्की महर्जन एक्लैले सर्वाधिक ४३ अंक स्कोर गरे । उनी एकै खेलमा सर्वाधिक अंक स्कोर गर्ने खेलाडी समेत बने ।
महर्जन नै खेलको म्यान अफ दि म्याच घोषित भए । विजयी टिम आर्मीका सिमोन गुरुङले सर्वाधिक २० अंक स्कोर गरे । आर्मीको ११ खेलमा यो दशाैँ जित हो । आर्मीले ११ खेलबाट २१ अंक जोडेर दोस्रो स्थानमा उक्लेको छ ।
११खेलपछि गोल्डेनगेट, आर्मी र टाईम्सको समान २१ अंक छ । तर अंक अन्तरमा गोल्डेनगेट शीर्ष स्थानमा छ । कीर्तिपुरको यो नवाैँ हार हो । कीर्तिपुर ११ खेलबाट १३ अंक जोडेर पाँचाै स्थानमा छ ।
यस्तै मंगलबार भएको पहिलो खेलमा केभिसी हाउण्ड्सले रोएललाई १००-६९ को फराकिलो अन्तरले हरायो । हाउण्ड्सले पहिलो क्वाटरमा २८-२३ ले पछि परेको स्थितीमा पुनरागमन गर्दै त्यसपछि तीन क्वाटर आल्नो पक्षमा पारेको थियो ।
हाउण्ड्सले दोस्रो क्वाटर २०-८,तेस्रो क्वाटर २८-१९ र चाैथो क्वाटर २९-१३ ले आफ्नो पक्षमा पार्दै खेल जितेको हो । हाउण्ड्सको यो लगातार आठाैँ जित हो । सुरुवाती तीन खेल हारेपछि हाउण्ड्सले लगातार खेल जितेको छ ।
११ खेलबाट १९ अंक जोडेको छ र चाैथो स्थानमा छ । ११ खेलमा रोएलको यो दशाैँ हार हो । हाउण्ड्सका तोमार हर्शवर्दन म्यान अफ दि म्याच घोषित भए । हाउण्ड्सका विजय बुर्जाले सर्वाधिक २० अंक स्कोर गरे ।
नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा भईरहेको दोस्रो संस्करणको एचजेएनबीएलमा ८ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । डबल राउण्ड रोविनका आधारमा हुने लिगमा कूल ५६ खेल हुनेछ । लिग चरणपछि शीर्ष चारमा रहने टोली प्लेअफमा प्रवेश गर्नेछन् ।
प्लेअफ अन्तर्गत लिगमा पहिलो र दोस्रो हुने टोलीबीच पहिलो क्वालिफायर हुनेछ भने लिगमा तेस्रो र चौथो हुने टोलीबीच एलिमिनेटर खेल हुनेछ । पहिलो क्वालिफायरमा पराजित टोली र एलिमिनेटरमा विजयी टोलीबीच दोस्रो क्वालिफायर हुनेछ । पहिलो र दोस्रो क्वालिफायरको विजेताबीच फाइनल खेल हुनेछ ।
प्रतियोगिताको विजेताले नगद ४ लाख प्राप्त गर्नेछन् भने उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख हात पार्नेछन् । यस्तै प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै मोस्ट भ्यालुएबल प्लेअर (एमभिपी) घोषित हुनेलाई पनि आकर्षक पुरस्कार प्राप्त गर्ने नेबाले जनाएको छ ।