काठमाडौँ । २० औँ एसियाली खेलकुदको प्रवर्धनका लागि ‘एसियन गेम्स फन रन’ हुने भएको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी)ले ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए)को कार्यक्रमअन्तर्गत ‘फन रन’ गर्न लागेको हो ।
एनओसीले यो दौड सफलतापूर्वक सञ्चालन गर्नका लागि रामकृष्ण श्रेष्ठ बोसंयोजकत्वमा पाँच सदस्यीय एसियन गेम फन रन आयोजक समितिको गठन गरेको छ । संयोजक श्रेष्ठ बोसले एसियन गेम्सअघि एसियाको यस शीर्ष खेलकुद प्रतियोगितामा सहभागी हुने प्राय राष्ट्रले फन रन गर्ने परम्परा रहिआएको बताउनुभयो ।
उहाँले भन्नुभयो– हामीले पनि ओलम्पिकको भावनाअनुरुप हुने यस परम्परालाई कायम राख्न विगत तीन वर्षदेखि एसियाली खेलकुदअघि फन रनको आयोजना गर्दै आएका छौँ । यसअघि, एनओसीले सन् २०१८ मा भएको जाकार्ता–पालेमबाङ एसियाड र पछिल्लो ह्वाङजाउ एसियाडको प्रचारप्रसारस्वरुप फन रनको आयोजना गरेको थियो ।
फन रन फागुन ३० गते शनिबार बिहान ७ः३० बजे आयोजना गरिनेछ । एनओसी भवनको प्राङगणमा एक कार्यक्रमबिच सुरु हुने फन रन पाटन दरबार स्क्वायरमा पुगेर समापन हुनेछ । संयोजक श्रेष्ठ बोसले करीब तीन किलोमिटरको सो फन रन दुरीमा सहभागीहरुले पाटनका सम्पदा क्षेत्रको अवलोकन पनि गर्ने बताउनुभयो ।
सो फन रनमा खेलाडी, विद्यार्थी, सञ्चारकर्मी, ओलम्पियन, खेल संघ–संस्था, कुटनीतिक व्यक्तित्व, सुरक्षा फौजका प्रतिनिधि गरी करीब एक हजाको सहभागता रहने अपेक्षा गरेको संयोजक बोसले बताउनुभयो सो फन रनमा आइची नागोया एसियन गेम्सको आयोजक कमिटका प्रतिनिधिहरू, ओलम्पिक काउन्सिल अफ एसियाका प्रतिनिधिहरुका साथै नेपालका लागि जापानी राजदूतको पनि सहभागिता रहने जानकारी संयोजक श्रेष्ठ बोसले दिनुभएको छ ।
आगामी एसियाड जापानको नागोया शहरलाई दिइएको छ । प्रत्येक चार वर्षमा हुने एसियाड यसपालि आगाम सेप्टेम्ब १९ देखि अक्टोबर ४ तारिखसम्म हुँदैछ । २० औँ एसियाली खेलकुदमा सहभागिताका लागि एनओसीले ३२ खेलको दर्ता गरिसकेको छ ।