काठमाडौं । लिटिल एन्जल्स (एलए) स्कुलको आयोजनामा पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिप शुक्रबार समपन्न भएको छ ।
हात्तीवनस्थित आयोजक एलएकै हातामा भएको प्रतियोगितामा फुटबल, फुटसल, भलिबल, बास्केटबल र टेबलटेनिस गरी ५ खेलमा ३ सामुदायिकसहित २२ विद्यालयको सहभागिता रहेको थियो ।
ब्वाइज फुटसलको उपाधि एलए ‘ए’ ले जित्यो । एलए ‘ए’ ले फाइनलमा आफ्नै ‘बी’ टिमलाई ६–० गोलले पराजित गर्यो । विजेता टोलीकात्रय आयुश थापा उत्कृष्ट खेलाडी, रायन मोक्तान उत्कृष्ट गोलरक्षक र प्रणव बोगटी सर्वाधिक गोलकर्ता बने ।
.jpg)
ब्वाइज फुटबलमा लोयल्टी एकेडेमीले फाइनलमा एलए ‘ए’ लाई २–१ गोलले हराउदै च्याम्पियन बन्यो । लोयल्टीका साहिल राई उत्कृष्ट खेलाडी तथा लोयल्टीकै समर्पण सेढाईं उत्कृष्ट गोलरक्षक घोषित भए । एलए ‘ए’ का स्मिथ रावत सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा रहे ।
ब्वाइज भलिबलमा वैष्णवी पहिलो भयो । फाइनलमा वैष्णवीले माउन्ट ओलिभलाई २५–२० र २५–२२ को सोझो सेटमा पाखा लगायो । वैष्णवीका रविन नागरी उत्कृष्ट खेलाडी चुनिए ।
.jpg)
बास्केटबलमा पुष्पसदनले दोहोरो उपाधि चुम्यो । ब्वाइज फाइनलमा पुष्पसदनले एलएलाई २७–१७ ले पराजित गर्यो । गल्सको उपाधि भिडन्तमा पुष्पसदनले ज्ञानोदयमाथि १८–१५ को जित दर्ता गर्यो । ब्वाइजमा पुष्पसदनका सम्राट लामा तथा गल्समा पुष्पसदनकै निधि ठगुन्ना ‘मोस्ट भेलुएबल प्लेयर’ ठहरिए ।
विजेतालाई एलएका निर्देशक राजेश श्रेष्ठ, नेपाल जिम्न्याष्टिक संघका महासचिव समेत रहेका एलएका प्रिन्सिपल मुकुन्दराज शर्मालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।