काठमाडौं । कर्णाली प्रदेशमा हुने १०औँ राष्ट्रिय खेलकुदको तयारीलाई अझ तीव्रता दिने उद्देश्यले सर्खेतको वीरेन्द्रनगरमा १०औँ राष्ट्रिय खेलकुद मूल आयोजक समितिको सचिवालय आइतबार उद्घाटन गरिएको छ । वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशाला हातामा सचिवालय स्थापना गरिएको छ ।
संघ, प्रदेश र स्थानिय तहको प्रतिनिधित्व हुने गरी राष्ट्रिय खेलकुद परिषद् (राखेप)का अध्यक्ष युवा तथा खेलकुद खेलकुद मन्त्री तेजुलाल चौधरी, कर्णाली प्रदेशका मुख्य मन्त्री यमलाल कँडेल र वीरेन्द्र नगरपालिकाकी मेयर मोहनमाया ढकालले एक कार्यक्रमबीच सचिवालयको संयुक्त रुपमा उद्घाटन गरे । कार्यक्रमलाई सम्बोधन गर्दै खेलकुद मन्त्री चौधरीले १०औँ राष्ट्रिय खेलकुद अब जेठमै निर्धारण गरिएको मितिमा हुने बताउदै सहभागी हुने सबै टिमलाई तयारी गर्न आग्रह गरे । उनले राष्ट्रिय खेलकुदका लागि खरिद प्रकृया सुरु भइसकेको जानकारी गराउदै केही दिनमा नै उपसमिति गठन गरिने बताए ।
उनले मौसमको प्रतिकुलतालाई मध्यनगर गरी खेल तालिका बनाइने बताउदै केही खेल राष्ट्रिय खेलकुद सुरु हुन एक साता बाँकी छँदै सञ्चालन गरिने बताए । उनले सचिवालय स्थापना हुनु राष्ट्रिय खेलकुद जेठ ३ गतेदेखि नै हुने सुनिश्चिता भएको बताउदै राष्ट्रिय खेलकुदलाई सफल बनाउन सबैको साथ र सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे । मुख्यमन्त्री कँडेलले कर्णाली प्रदेशका लागि १०औँ राष्ट्रिय खेलकुद अवसर भएको बताउदै सचिवालय उद्घाटनले राष्ट्रिय खेलकुद जेठ ३ मै हुने सन्देश दिएको बताए ।
सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले राष्ट्रिय खेलकुद तोकिएकै मितिमा सम्पन्न हुनुपर्नेमा जोड दिए । वीरेन्द्रनगर नगरपालिकाकी मेयर मोहनमाया ढकालले राष्ट्रिय खेलकुद सफलतापूर्वक सम्पन्न स्थानिय तहको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरिन् । राखेपका उपाध्यक्ष ध्रुव आचार्यले राष्ट्रिय खेलकुद सफल बनाउन सम्बन्धित सबैलाई सहयोग गर्न अनुरोध गरे ।
कार्यक्रममा राखेपका सदस्य-सचिव टंकलाल घिसिङ, राखेप कार्यकारी समितिकी सदस्य सुवर्ण श्रेष्ठ, राखेपकी सदस्य नन्दा बस्याल, जनप्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, खेलकर्मीलगायतको उपस्थिति रहेको थियो । यहि फागुन २० गते ललितपुरको सातदाबोटोमा बसेको मूल आयोजक समितिको पहिलो बैठकले सर्खेतमा सचिवालय स्थापना गर्ने निर्णय गरेको थियो ।