काठमाडौं । अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २५औँ संस्करणको तयारी पूरा भएको छ । बिहिबार धरानमा आयोजित पत्रकार सम्मेलनमा आयोजक धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले यही माघ १९ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिए ।
प्रतियोगिता धरान उपमहानगरपालिका-१६ स्थित रङ्गशालामा आयोजना हुनेछ । माघ १९ गते पहिलो खेल लिग च्याम्पियन चर्च ब्वाइज क्लब र पुलिस क्लबबीच हुने अध्यक्ष तामाङले बताए । प्रतियोगितामा एनआरटी क्लब काठमाडौं, लिग च्याम्पियन चर्च ब्वाइज क्लब, नेपाल पुलिस क्लब, भुटान फुटबल एकेडेमी, इटहरी जागृति क्लब, युके एफसी भारत, काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापा र धरान फुटबल क्लब रहने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले ट्रफीसहित १० लाख र उपविजेताले नगद पाँच लाख रुपैयाँ पुरस्कार पाउने छन् । उत्कृष्ट खेलाडीले नगद एक लाख र प्रत्येक खेलको प्लेयर अप द म्याचले १५ हजार, सर्वाधिक गोलकर्ताले ३५ हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफन्स, उत्कृष्ट मीड फिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षकले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउने क्लबका महासचिव नविन राईले बताए । प्रतियोगितामा विजेताले पाउने १० लाख रुपैयाँ पुरस्कार धरान बहराईन एकता समाज धरान समाज युकेले प्रदान गर्ने भएको छ भने उपविजेताले पाउने पाँच लाख धरान उपमहानगरपालिका-१५ निवासी हाल पोर्चुगलमा रहेका अरुण राईले प्रदान गर्ने जनाइएको छ ।
प्रतियोगिताको लागि आर्थिक समिति, खेलाडी समिति, प्रचारप्रसार समिति, सुरक्षा समितिलगायतका समितिहरु बनाइएको अध्यक्ष तामाङले बताए । गत वर्षको संस्करण एनआरटी क्लब काठमाडौंले जितेको थियो भने जिल्ला फुटबल सङ्घ मोरङ उपविजेता भएको थियो ।