काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले आफ्नो ३१औँ वार्षिकोत्सव मनाएको छ । नेपालको निर्जीवन बीमा क्षेत्रलाई आधुनिक बनाउँदै उत्कृष्ट सेवा प्रवाह गर्दै आएको यस इन्स्योरेन्सले विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाएको हो ।
सो अवसरमा इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत अन्जु श्रेष्ठले हिमालयन एभरेष्ट इन्स्योरेन्सले तीन दशकको यात्रामा नवीनता, पारदर्शिता र ग्राहक केन्द्रित सेवामा ध्यान दिँदै आएको बताएकी छन् । उनले कम्पनीको उद्देश्य ग्राहकहरूलाई छिटो र विश्वसनीय सेवा प्रदान गर्दै नेपालको अर्थतन्त्र र पूर्वाधारको विकासमा योगदान पुर्याउनु रहेकोले सबै ग्राहक, कर्मचारी र साझेदारहरूको योगदानले गर्दा कम्पनीले ३१औँ वर्ष पूरा गर्न सफल भएको बताएकी छन् ।
त्यसैगरी, कम्पनीका फाउन्डिङ एमडी एवम् अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठले ३१ वर्षको यो महत्वपूर्ण उपलब्धि केवल समयको उत्सव मात्र नभई हिमालयन एभरेष्ट इन्स्योरेन्स परिवारको अथक मेहनत र समर्पणको प्रमाण भएको बताएका छन् । उनले भने, ‘यो वार्षिकोत्सव हाम्रा ग्राहकवर्गको हामीमाथिको विश्वास र सम्पूर्ण साझेदारहरूको समर्थनको प्रमाण हो । अब भविष्यतर्फ अघि बढ्दै गर्दा हाम्रो ध्यान ग्राहकहरूलाई थप मूल्य प्रदान गर्ने, प्रविधिगत क्षमताहरूलाई सुदृढ गर्ने र नेपालको आर्थिक तथा सामाजिक विकासमा अर्थपूर्ण योगदान पुर्याउनमा केन्द्रित रहने छ । हामी व्यक्ति तथा व्यवसायहरूलाई सशक्त बनाउनका लागि आत्मविश्वास प्रदान गर्ने हाम्रो लक्ष्यलाई निरन्तर कायम राख्ने प्रतिबद्धतामा दृढ छौं ।’ साथै, उनले आगामी वर्षहरूमा थप नयाँ प्रविधिले बीमा सेवा प्रवाहलाई अझ प्रभावकारी योजना बनाउनेमा कम्पनी रहने बताए ।
तीन दशकभन्दा लामो इतिहास बोकेको यस कम्पनीले व्यक्तिगत, कर्पोरेट तथा कृषि बीमा उपलब्ध गराउँदै आएको छ । व्यक्तिगत बीमाअन्तर्गत सवारी साधन बीमा, व्यक्तिगत दुर्घटना बीमा र यात्रा बीमा रहेका छन् भने कर्पोरेट बीमाअन्तर्गत भवन बीमा, उद्योग, समुन्द्रिक, हवाई र इन्जिनियरिङ बीमा सेवा समावेश छन् । त्यसैगरी कृषि बीमाअन्तर्गत गाईवस्तु र बाली बीमा रहेका छन् । कम्पनीले डिजिटल माध्यमबाट बीमाको दाबी सजिलै गर्न मिल्ने ‘स्मार्ट क्लेम’ सेवा पनि उपलब्ध गराउँदै आएको छ ।
हिमालयन एभरेष्ट इन्स्योरेन्सले हालै सिंगापुरमा आयोजित इन्स्योरेन्स एसिया अवार्ड २०२४ मा डोमेस्टिक जेनेरल इन्स्योरर-नेपाल र स्ट्राटेजिक पार्टनरशिप अफ द इयर-नेपाल गरी दुई प्रतिष्ठित अवार्डहरू जित्न सफल भएको थियो ।