काठमाडौं । नौ पटक टेबलटेनिस राष्ट्रिय च्याम्पियन बनेकी नबिता श्रेष्ठ प्रबन्ध निर्देशक रहेको स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमी प्रालिको आयोजनामा हुने स्ट्याग ग्लोबल च्याम्पियन्स टेबलटेनिस लिग-सिजन २ का लागि सह-प्रायोजनसम्बन्धी सम्झौता भएको छ । आयोजक एकेडेमी र तीन सह-प्रायोजकबीच शनिबार सम्झौता भएको हो ।
आयोजक एकेडेमीकी प्रबन्ध निर्देशक श्रेष्ठ, समाजसेवी एवं अखिल नेपाल टेबलटेनिस संघका उपाध्यक्ष सुमन खड्गी, मेटल सेपरका प्रबन्ध निर्देशक निरज जोशी र नेपाली घर होटल प्रालि, ठमेलका महाप्रबन्धक राजीव श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरे । उपाध्यक्ष खड्गीले प्रतियोगिताको कुल बजेट १९ लाख ५५ हजार मध्ये २० प्रतिशत ३ लाख ९१ हजार रुपैयाँ उपलब्ध गराउने छन् । मेटल सेपरले ट्रफी व्यवस्थापन गर्ने छ । आतिथ्य सोझेदारका रुपमा रहेको नेपाली घरले प्रतियोगितामा सहभागी हुने विदेशी खेलाडीको खाना र बसोवासको व्यवस्थापन गर्ने छ ।
मुख्य प्रायोजक तथा इक्विप्मेन्ट पार्टनरमा स्ट्याग ग्लोबल प्रालि भारत रहेको छ । स्ट्यागले प्रतियोगितालाई आवश्यक पर्ने टेबलटेनिस टेबल, बल, स्कोर बोर्ड, तावेल बक्स, अफिसियल किटलगायत प्रदान गर्ने प्रबन्ध निर्देशक श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी गराइन् ।
प्रतियोगितामा ७ टिमको सहभागिता रहने छ । सहभागी टिमहरुमा नेपाल प्रहरी क्लब, नेपाल एपीएफ क्लब, ज्ञान भैरव डिल्ली बजार टेबलटेनिस क्लब, यल टेबलटेनिस, होप्स टेबलटेनिस एकेडेमी, रेड टाइल्स र आयोजक स्ट्याग रहेका छन् । प्रहरी, एपीएफ र स्ट्यागले समान १-१ पुरुष/महिला विदेशी खेलाडी पनि अनुबन्ध गरेको जानकारी दिइयो ।
सहभागी टिमबीच पहिले राउन्ड रोविन लिग हुनेछ । लिगमा शीर्ष ४ स्थानमा रहने टिम सेमिफाइनलमा प्रवेश गर्ने छन् । एक टिमले समान २-२ पुरुष/महिला सिंगल्स र मिक्स डबल्स गरी ५ खेल खेल्नु पर्ने हुन्छ । विजेताले २ लाख र उपविजेताले १ लाख नगद पुरस्कार प्राप्त गर्ने छन् ।
सेमिफाइनलमा पराजित हुने दुई टिमलाई समान ५०-५० हजार नगद पुरस्कार प्रदान गरिने छ । अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष वृजेन्द्रबहादुर हमालले प्रतियोगितामा संघको प्राविधिक सहयोग रहने बताए । असोज १२ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछ ।