काठमाडौं । ओलम्पिक डे २०२४ को अवसरमा शनिबारदेखि नेपालमा यसको औपचारिक शुभारम्भ गरिएको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी) को तत्वावधानमा एनओसीअन्तर्गत रहेको स्पोर्ट्स फर अल कमिसनको आयोजनामा नेपालमा ओलम्पिक डे २०२४ को कार्यक्रम सुरु गरिएको हो ।
पाटन मंगलबजारमा शनिबार एक कार्यक्रमको आयोजना गर्दै ओलम्पिक डे २०२४ को थालनी गरिएको हो । कार्यक्रममा स्पोर्ट्स फर अल कमिसनका अध्यक्ष विष्णुगोपाल श्रेष्ठले उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)को झण्डोत्तोलन गरे ।
कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका कार्यवाहक अध्यक्ष ज्योती राणाले राष्ट्रिय झण्डा झण्डोत्तोलन गरिन् । यस्तै कार्यक्रममा नेपाल प्रहरी ब्याण्ड टोलीबाट राष्ट्रिय गान प्रस्तुत गरिएको थियो । यस्तै दधिकोट स्कुलका छात्राबाट बाँसरीमा मंगल धुन प्रस्तुत गरिएको थियो ।
मंगलबजारबाट विभिन्न स्कुलका विद्यार्थीहरुले मार्चपास गर्दै सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटीमा पुगेका थिए । ओलम्पिक डे हरेक वर्ष जुन २३ मा मनाइँदै आएको छ । तर नेपालमा भने स्पोर्ट्स फर अल कमिसनले जुनको सुरुवातदेखि नै विभिन्न कार्यक्रमहरु आयोजना गरेर ओलम्पिक डे मनाउने गर्छ ।
‘शनिबारदेखि हामीले नेपालमा ओलम्पिक डे २०२४ को औपचारिक सुरुआत गरेका छौँ । यसअघि नै केही कार्क्रमहरु सुरु भईसकेका छन्,’ श्रेष्ठले भने । श्रेष्ठले स्कुलमा पढ्ने बालवालिकालाई सानैदेखि सही मार्गमा डोहोर्याउन र खेलकुलको बारेमा जानकारी गराउन यस किसिमको कार्यक्रम गरिएको बताए । यस्तै ड्रग र विसंगति जस्ता खराब क्रियाकलापबाट रोक्न पनि यस कार्यक्रमले सहयोग गर्ने उनले बताए ।
श्रेष्ठका अनुसार नेपालको सात वटै प्रदेश, राष्ट्रिय खेल संघ संस्थाहरु विभागीय टोली प्रि स्कुलहरुसँग सहकार्य गरेर ओलम्पिक डेको अवसरमा विभिन्न कार्यक्रम गरिनेछ । यस्तै ओलम्पिक डे को दिन जुन २३ मा मुख्य कार्यक्रम आयोजना गरिने उनले जानकारी दिए । गत वर्ष ३ हजार २ सय ७३ कार्यक्रम आयोजना गरिएको र यस वर्ष ४ हजार एक कार्यक्रम गर्ने लक्ष्य रहेको कमिसनका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
शिक्षा र खेलकुद क्षत्रेको सही तालमेल मिलाउन र स्कुलदेखि नै साना भाइबहिनीहरुलाई खेलकुदको विविध पक्षमा बुझाउनका लागि यस खालको कार्यक्रम आयोजना गरिएको कमिसनले जनाएको छ । नेपालमा सन् २०११ देखि प्रत्येक वर्ष ओलम्पिक डे मनाउँदै आएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको स्थापना भएको दिन २३ जुनको अवसर पारेर नेपाल लगायत विश्वभर विभिन्न कार्यक्रम गरेर ओलम्पिक डे मनाइन्छ ।