काठमाडाैं, २३ साउन – विश्व फुटबल जगतकै सर्वाधिक लोकप्रिय राष्ट्रिय लिग प्रतियोगिता इंग्लिस प्रिमियर लिग यसै विकइण्डबाट सुरु हुँदैछ ।
उक्त प्रतियोगितामा प्रतिस्पर्धा गर्ने २० वटै क्लबहरु यही बिहीबार ट्रान्सफर विण्डो बन्द हुने हुनाले नयाँ जोस र जाँगरका साथ सिजनको तयारीमा व्यस्त रहेका छन् ।
२०१५/१६ मा अप्रत्याशित टोली लेस्टर सिटीले प्रिमियर लिग जित्दा उक्त टोलीका महत्वपूर्ण खेलाडी रहेका अल्जेरियन स्टार रियाड मारेज डिफेण्डिङ च्याम्पियन म्यानचेस्टरमा अाबद्ध भएका छन् ।
त्यस्तै, इटालियन सिरिया ए मा पछिल्लो सिजन जमेका खेलाडी जर्जिन्हो पनि २ वर्ष अगाडीको विजेता चेल्सीमा अाबद्ध भएका छन् । यसै सिजन रेलिगेसनबाट अाएका क्लबहरु पनि अर्को सिजन प्रिमियर लिगमै रहने गरिको तयारी गर्न थालिसकेका छन् ।
शुक्रबार राति १२ः ४५ मा हुने सिजनको पहिलो खेलमा २० पटकको विजेता म्यान्चेस्टर युनाइटेडले सिजन १५/१६ को अद्भुत विजेता लेस्टरको सामना गर्दै छ । म्यान्चेस्टर युनाइटेडको घरेलु मैदानमा हुने खेल अत्यन्तै प्रतिस्पर्धात्मक हुने अनुमान यस अघिनै गर्न थालिसकिएको छ ।
त्यस्तै, शनिबार साझँ ५ः१५ मा हुने खेलमा न्युक्यासल युनाइटेडले टोटनह्यामको सामना गर्दैछ । सोही राति पाैने ८ बजे हुने खेलहरुमा वर्नमाउथविरुद्ध कार्डिफ सिटी, फुल्हामविरुद्ध क्रिस्टल प्यालेस, हडर्शफिल्डविरुद्ध चेल्सी भिड्दा राति सवा १० बजे हुने खेलमा वोल्भसले एभर्टनको सामना गर्नेछ ।
कार्डिफ सिटी, फुल्हाम र वोल्भस यसै सिजन सेकेण्ड डिभिजनबाट प्रोमोशन भएर अाएका क्लबहरु हुन् ।