काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्(राखेप)ले राष्ट्रिय खेल संघहरुलाई विभिन्न १० वटा बिषयमा जानकारी गराउने उद्देश्यले आयोजना गरेको तीन दिने राष्ट्रिय खेल सबलीकरण कार्यक्रम आइतबार सम्पन्न भएको छ । समापन कार्यक्रममा परिषद्का उपाध्यक्ष शिव कोईराला ज्वालाले राष्ट्रिय खेल संघहरुलाई यस्ता कार्यक्रमले गतिविधिलाई नियमित गर्न सहयोग पुग्ने बताए ।
उनले सबैको सहकार्यमा मात्र खेलकुदले गति लिने र नयाँ कार्यक्रमबाट उद्देश्य पूरा हुन सक्ने बताए । राखेपका सदस्य सचिव टंकलाल घिसिङले कार्यक्रमको समापन गर्दै संघहरुलाई निर्देशन दिने मात्र नभई सक्षम बनाउने दायित्व पनि परिषद्को भएको बताए । उनले संघहरुलाई कार्यालय सन्चालन, प्रविधिको प्रयोग, कानूनी व्यवस्था, आर्थिक प्रणालीका विषयमा सबल बनाउन कार्यक्रम आयोजना गरेको बताए । उनले आगामी दिनमा पनि कार्यक्रमले निरन्तरता पाउने बताउँदै कार्यक्रमले संघलाई अझ जिम्मेवार बनाउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा नेपाल क्रिकेट संघका प्रमुख लेखा अधिकृत रमेश कुमार न्यौपाने, नेपाल व्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, नेपाल स्केटिङ एन्ड स्केट बोर्डिङ संघका अध्यक्ष अच्युत खनाल, नेपाल जुडो संघका अध्यक्ष दिपकहर्ष बज्राचार्य, नेपाल स्क्वास एन्ड र्याकेट्स संघका अध्यक्ष ध्रुबबहादुर गुरुङ, नेपाल टेनिस संघकी अध्यक्ष ज्योती राणा लगायतले कार्यक्रम निकै फलदायी भएको अनुभव सुनाउँदै कार्यक्रमबाट धेरै कुरा सिक्न पाएको धारणा व्यक्त गरे ।
यस प्रकारको कार्यक्रम परिषदले पहिलो पटक आयोजना गरेको भन्दै सहभागीहरुले आगामी बर्षहरुमा पनि निरन्तरता आवश्यक भएको बताए । कार्यक्रमले संघ सन्चालन, कार्यक्रम आयोजना गर्ने तथा हिसाव किताब दुरुस्त राख्न सहयोग पुग्ने विचार राखे ।
कार्यक्रममा खेलकुद सम्वन्धि ऐन कानून, संघको जिम्मेवारी र कर्तव्य, खेलकुदमा पत्रकारिताको भूमिका र सम्वन्ध, प्रतिवन्धित लागू औषधको नियन्त्रण, आईटीको आवश्यकता र प्रविधिको प्रयोग, खेलाडी सम्वन्धि अध्ययन र अनुसान्धान, खेलाडी विदेश पठाउदा वा ल्याउदा अपनाउनु पर्ने कानूनी पक्ष तथा खेलकुदमा क्षेत्र र खेल संघहरुको सम्वन्ध लगायत बिषयमा सम्वन्धित बिषयका विज्ञहरुमार्फत धुलिखेलमा प्रशिक्षण दिएको थियो ।