रत्ननगर, २३ साउन – जंगल सफारीका लागि चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकमध्ये ८० प्रतिशत बढीले सौराहा प्रवेशद्वारको प्रयोग गर्ने गरेका छन् ।
निकुञ्ज जाने नौ प्रवेशद्वारमध्ये पूर्वी क्षेत्रका रूपमा परिचित सौराहा प्रवेशद्वार पर्यटकको रोजाइमा पर्ने गरेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले बताउनुभयो । गएको एक वर्षमा निकुञ्ज घुम्ने कूल पर्यटकमध्ये ८३ दशमलव ३७ प्रतिशत पर्यटकले सौराहा नाका प्रयोग गरे । विगतका वर्षमा ८० देखि ९० प्रतिशत पर्यटकले सौराहाकै प्रवेशद्वार प्रयोग गर्दै आएका निकुञ्जको भनाइ छ ।
निकुञ्जका अनुसार आर्थिक वर्ष ०७४–७५ मा निकुञ्ज घुम्ने कूल एक लाख ५२ हजार ६७१ पर्यटकमध्ये एक लाख २७ हजार २९५ पर्यटक सौराहा हुँदै निकुञ्ज घुमेका छन् । यो कूल पर्यटकमध्ये ८३ दशमलव ३७ प्रतिशत हो ।
अन्य आठ नाका प्रयोग गरेर २५ हजार ३७३ पर्यटकले निकुञ्ज घुमेको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्याल बताउनुहुन्छ । निकुञ्ज प्रवेश गर्न सौराहसहित पश्चिम चितवनको घटगाई, निकुञ्जको मुख्य कार्यालय कसरा, देवनगर, माडीस्थित वनकट्ठा, पश्चिम मेघौलीको भिम्ले, नवलपरासीको अमलटारी, लौखानी र कुवौली प्रवेशद्वार छ ।
गएको एक वर्षमा सौराहा नाकाबाट एक लाख २७ हजार २९५, घटगाई प्रवेशद्वारबाट २१२, कसरा र देवनगर प्रवेशद्वारबाट ११ हजार ९११, वनकट्ठा प्रवेशद्वारबाट एक हजार ३४, भिम्ले पोष्टबाट आठ हजार २६५, लौखानीबाट ५००, अमलटारीबाट दुई हजार ८६४ र कुबौली प्रवेशद्वारबाट १२१ पर्यटकले निकुञ्ज घुमे ।
निकुञ्ज घुम्नेमा सबैभन्दा बढी तेस्रो मुलुकका ९८ हजार ९२५ पर्यटक छन् । सार्क मुलुकबाट आएका १९ हजार ६९६ र ३४ हजार ६५० नेपाली पर्यटकले निकुञ्ज घुमे । जसमा ७० हजार ८८१ महिला र ८१ हजार ७९० पुरुष पर्यटक छन् । पर्यटकबाट रु २४ करोड ८३ लाख राजश्व संकलन भएको छ ।
दुर्लभ एकसिङ्गे गैँडाको प्राकृतिक बासस्थानका हिसाबले विश्वमै दोस्रो महत्वपूर्ण संरक्षित क्षेत्र चितवन राष्ट्रिय निकुञ्ज हो । निकुञ्ज घुम्न आएका अधिकांश पर्यटक सौराहा टेकेर जानुमा मुख्यत यहाँको आरामदायी होटलसहितका व्यवस्थित पर्यटकीय गन्तव्य र गतिविधि नै हो ।
सौराहा आकर्षक पर्यटकीयस्थलका रूपमा परिचित भएको र विविध सुविधा भएकाले पर्यटक सौराहा हुँदै निकुञ्ज घुम्ने गरेको क्षेत्रीय होटल संघ सौराहा चितवनका महासचिव राममणि खनाल बताउनुहुन्छ । उहाँका अनुसार सौराहामा हात्ती, जीप, डुंगा सफारीको व्यवस्था छ ।
पथ प्रदर्शकले पर्यटकलाई जंगलमा पैदल हिँडाएर बाघ, गैँडा देखाउन निकुञ्जमा लैजान्छन् । मनोरम दृश्यावलोकन तथा सौराहादेखि कसरा हुँदै निकुञ्ज पश्चिम टाइगरटप्ससम्म पर्यटक जीप सफारीमा रमाउन पाउने भएकाले पर्यटकको पहिलो रोजाइ सौराहा हुने गरेको पर्यटन व्यवसायी तथा चराविज्ञ टीका गिरी बताउनुहुन्छ ।