काठमाडौं । राजधानीमा जारी नेपाल सुपर लिग एनएसएलमा अपराजित ललितपुर सिटी एफसीले विरगन्ज युनाइटेड एफसीसँग बराबरी खेलेको छ । मंगलबार दशरथ रंगशालामा भएको खेलमा ललितपुरले विरगन्जसँग २–२ गोलको बराबरी खेलेको हो ।
रोमाञ्चक बनेको खेलमा पुछारको वीरगन्जले शीर्ष स्थानको होडमा रहेको ललितपुरलाई बराबरीमा रोक्दै एनएसएलमा पहिलो अंक बटुलेको छ । यसअघिका दुई खेल पराजित भएको वीरगन्ज युनाइटेडले तेस्रो खेलमा भने उत्कृष्ट प्रदर्शन गरेको थियो ।
खेलको १० औं मिनेटमा ओबेड ओसुवुको थ्रु-पासलाई अनन्त तामाङले रोकेपनि बक्सको छेउबाट विलियम ओपोकुले गोल गर्दै विरगन्जलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, विरगन्जले अग्रता लिएको तेस्रो मिनेटमा नै सेसेहाङ आङदेम्बेले मैदानको हाफबाट दिएको लामो पासमा इमोन एजिकिलले गोल गर्दै ललितपुरलाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।
खेलको २७ औं मिनेटमा वान भर्सेस वानमा मिडफिल्डर निखिल कदमले १९ यार्डबाट उत्कृष्ट गोल गर्दै ललितपुरलाई २–१ गोलले अघि बढाएका थिए । तर, खेलको ५२ औं मिनेटमा विलियम ओपोकुले प्रहार गरेको फ्रिकिकको रिबाउन्ड बलमा दोस्रो हाफमा मैदान प्रवेश गरेका क्रिपा कान्त थारुले गोल गर्दै विरगन्जलाई २–२ गोलको रोमाञ्चक बराबरीमा ल्याएका थिए । त्यसपछि, खेलमा दुबै टोलीले गोलको केहि अवसर पाएपनि गोल भने गर्न सकेनन् ।
पहिलो खेलमा साबिक उपविजेता धनगढी एफसीसँग २–१ गोल अन्तरको हार ब्यहोरेको वीरगन्ज युनाइटेड दोस्रो खेलमा पनि समान २–१ गोल अन्तरले एफसी चितवनसँग पराजित भएको थियो । पहिलो बराबरीसँगै ३ खेलबाट १ अंक जोडेपनि वीरगन्ज एनएसएल तालिकाको पुछारमै यथावत रहेको छ ।
बराबरीसँगै यस सिजनमा एनएसएलको उपाधि दाबेदारको रुपमा लिईएको ललितपुरले भने शीर्ष स्थानमा उक्लिने अवसर गुमायो । पहिलो खेलमा एफसी बुटवल लुम्बिनीलाई २–० गोल अन्तरले हराएको ललितपुरले दोस्रो र तेस्रो खेलमा क्रमशः पोखरा थन्डर्स र धनगढीसँग गोलरहित बराबरी खेलेको थियो ।
बराबरीसँगै ललितपुरको ४ खेलबाट ६ अंक भएको छ । तीन खेलमा ७ अंक जोडेको साबिक उपविजेता धनगढीभन्दा ललितपुर १ अंकले पछि रहँदै दोस्रो स्थानमा रहेको छ । खेलमा उत्कृष्ट प्रदर्शन गरेका विरगन्ज युनाइटेड एफसीका विलियम ओपोकु खेलको ‘प्लेयर अफ द म्याच’ भएका थिए ।