काठमाडौं । राजधानीमा जारी नेपाल सुपर लिग एनएसएलमा झापा एफसीका रक्षक सामान्डर ओकिलोभले खेलको अन्तिम मिनेटमा गोल गरेपछि पोखरा थन्डर्सविरुद्ध हार टोरेको छ । शनिबार दशरथ रंगशालामा भएको खेलमा झापा एफसीले पोखरा थन्डर्ससँग १–१ गोलको बराबरी खेलेको हो ।
खेलको १९ औं मिनेटमा जोए आइडोको क्रममा मोसिस टवामले उत्कृष्ट हेडरगोल गर्दै पोखरालाई सुरुवाती अग्रता दिलाएका थिए । तर, इन्जुरी समयको अन्तिम मिनेटमा आवास लामिछानेको क्रस पोखराका गोलकिपर प्रिसोले फुत्काएपछि झापाका रक्षक सामान्डर ओकिलोभले बराबरी गोल फर्काएका थिए ।
जित नजिक रहेको पोखरा थन्डर्सले बराबरीसँगै एनएसएल तालिकाको शीर्ष स्थानमा उक्लिने सुनौलो अवसर गुमायो । पहिलो खेलमा एफसी चितवनलाई १–० गोल अन्तरले हराएको पोखराले दोस्रो खेलमा ललितपुर सिटी एफसीविरुद्ध गोलरहित बराबरी खेलेको थियो ।
खेलको निर्धारित समय सकिन एक मिनेट बांकी छँदा पोखरा थन्डर्स १० खेलाडीमा सिमित भएको थियो । पोखराका कमलबहादुर थापाले रातो कार्ड पाउँदै मैदान छाडेका थिए । त्यस्तै, ६ मिनेट थप गरिएको इन्जुरी समयको आठौं मिनेटमा गोल खाएको भनेपछि पोखराका प्रशिक्षक नविन न्यौपानेले पनि खेलको अन्तिममा रातो कार्ड पाएका थिए ।
बराबरीसँगै पोखरा थन्डर्स ३ खेलबाट ५ अंक जोडेर एनएसएल तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । बराबरीसँगै तालिकाको पुछारदेखि तेस्रोमा रहेको झापाले २ खेलबाट १ अंक जोडेको छ । झापा एफसी पहिलो खेलमा स्पोर्टिङ इलामसँग १–० गोल अन्तरले पराजित भएको थियो ।
जित नजिक रहेको पोखरा थन्डर्सले अन्तिम मिनेटमा अग्रता जोगाउन नसक्दा झापासँग १–१ गोलको बराबरी खेल्दै अंक बाड्न बाध्य भएको हो । झापा एफसीविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गरेका पोखरा थन्डर्सका सुरज जिउ ठकुरी खेलको ‘प्लेयर अफ द म्याच’ भएका थिए ।